महानगर प्रहरी प्रमुख पाण्डे भन्छन्, ‘अब रातारात काठमाडौँ ‘चेन्ज’ गर्नुपर्छ, अब सुत्ने हाेइन, उठ्ने बेला हाे’

महानगर प्रहरी प्रमुख पाण्डे भन्छन्, ‘अब रातारात काठमाडौँ ‘चेन्ज’ गर्नुपर्छ, अब सुत्ने हाेइन, उठ्ने बेला हाे’

काठमाण्डाै ।  काठमाण्डाै महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राखेको छ । आज साेमवार पनि महानगरको टोलीले हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो ।

टुकुचा क्षेत्र अतिक्रमित गरेको भन्दै महानगरपालिकाले सम्भावित क्षेत्र पहिचान गरेर उत्खनन जारी राखेको छ । उत्खनन स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै काठमाण्डाै महानगर नगरी प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेले महानगरको आदेशमा नै टुकुचा उत्खनन गरेको बताउनुभयो ।

उहाँले महानगरपालिका विकासका लागि अघि बढिसकेको भन्दै अब काम गर्नका लागि पछि नहट्ने बताउनुभयो । उहाँले महानगर चिनियाँ शैलीमा विकास गर्नका लागि अघि बढेको र रातारात काठमाण्डाै परिवर्तन गर्ने योजनामा रहेको सुनाउनुभयाे ।

उहाँले भन्नुभयो, ‘आदेश भएर नै हामी आएको हो । अब काम गर्न रोकिँदैन, अघि बढेपछि बढेको बढ्यै हो । चीनकाे महानगर देख्नुभएको छ ? हामी चीनको महानगरको स्टाइलले अघि बढ्न चाहन्छौँ । त्यहाँ आज केही हुँदैन तर भोलि अर्कै संरचना बनिसकेको हुन्छ । रातारात काठमाण्डाै चेन्ज गर्नुपर्छ । अब सुत्ने होइन, उठ्ने बेला हो ।’

केही दिनअघि जय नेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा निकालेको थियो । हिजाे आइतवार टुकुचा खोलामाथि बनेका भौतिक संरचना नभत्काउन उच्च अदालत पाटनले काठमाण्डाै महानगरलाई आदेश दिएको थियो । यद्यपि महानगरले भने टुकुचा खोला उत्खननको प्रक्रिया अघि बढाएको छ ।