टिमले पराजय बेहोरेपछि महिला फुटबलका मुख्य प्रशिक्षक थापाले गरे राजीनामा घोषणा

टिमले पराजय बेहोरेपछि महिला फुटबलका मुख्य प्रशिक्षक थापाले गरे राजीनामा घोषणा

काठमाडौँ । नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापाले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । महिला साफ च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग ३-१ ले पराजित भएपछि मुख्य प्रशिक्षक थापाले राजीनामा दिने घोषणा गरेका हुन् ।

खेलपछि भएको पोस्टम्याच कन्फरेन्समा थापाले भने, ‘मैले नेपाली महिला फुटबल टिमको मुख्य प्रशिक्षकबाट राजीनामा दिने घोषणा गर्दछु । यदि कसैले सफलता प्राप्त गर्दैन भने त्यसमा बसिरहन उपयुक्त हुँदैन ।’

नेपाली टिमका मुख्य प्रशिक्षक कुमार थापा ६ वर्षपछि टिम सम्हाल्न फर्किएका थिए। यसअघि सन् २०१६ मा भारतको सिलिगुडीमा भएको साफमा नेपाल फाइनलसम्म पनि पुग्न सकेको थिएन । त्यतिबेला पनि थापा नै मुख्य प्रशिक्षकको जिम्मेवारीमा थिए ।

दर्शकले भरिएको दशरथ रंगशालामा भएको रोमाञ्जक खेल जितेर बंगलादेश नयाँ च्याम्पियन भएको छ । बंगलादेशले साफ वुमेन्स च्याम्पियनसिप जितेको यो पहिलो पल्ट हो । नेपाल भने पाँचौं पल्ट फाइनलमा पराजित रह्यो । महिला फुटबलमा नेपाल दशरथ रंगशालामा पराजित भएको यो पहिलो पल्ट हो ।