पुर्वप्रशिक्षक अलमुताइरीले निकाले सबै खेलाडी टिममा बोलाइए

पुर्वप्रशिक्षक अलमुताइरीले निकाले सबै खेलाडी टिममा बोलाइए

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि बिहीबार खेलाडीको नाम सार्वजनिक गरेको छ । नेपाली टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले ११ असोजमा हुने खेलका लागि २३ सदस्यीय टोली घोषणा गरेका हुन् । तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बाहिर राखेका सबै खेलाडीले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा स्थान बनाएका छन् ।

आईलिग खेल्न भारत पुगेका गोलरक्षक किरणकुमार लिम्बू फर्कने वा नफर्कने भन्ने केही स्पष्टता छैन । इन्डोनेसियामा व्यावसायिक फुटबल खेलिरहेका रोहित चन्द र बहराइन पुगेका मनीष डाँगी नेपाल फर्किएका छन् । गोलरक्षक विकेश कुथू र डिफेन्डर रञ्जित धिमालले बंगलादेशविरुद्ध पुनरागमन गर्नेछन् । ०७७ चैतमा थ्री नेसन्स कप फाइनलपछि रञ्जित र विकेशले ०७८ भदौमा भारतविरुद्ध मैत्रीपूर्ण खेलपछि टोलीमा स्थान बनाएका हुन् ।

दुई खेलाडीले पहिलोपटक स्थान बनाउँदा सुदीप गुरुङ ६ महिनापछि टोलीमा पुनरागमन गरेका छन् । सुमन लामा अहिले अस्ट्रेलियामा छन् । बंगलादेशविरुद्ध घरेलु मैदानमा हुने खेलमा हुमागाईंले आश्चर्यजनक रूपमा चार गोलरक्षक टोलीमा समावेश गरेका छन् । पूर्वप्रशिक्षक अलमुताइरीले अन्तिमपटक कप्तान बनाएका स्ट्राइकर नवयुग श्रेष्ठ यसपटक छैनन् ।

Europass CV in Nepal

०७९ वैशाख दोस्रो साता तत्कालीन प्रशिक्षक अलमुताइरीले अभद्र व्यवहार गरेको जनाउँदै १० खेलाडीले होटेल छोडेका थिए । विमल घर्तीमगर, सुजल श्रेष्ठ, विशाल राई, विशाल श्रेष्ठ, तेज तामाङ, सुमन, दिनेश राजवंशी, अञ्जन विष्ट, रोहित चन्द र अनन्त तामाङले प्रशिक्षक अलमुताइरीको आलोचना गरे । तत्कालीन कप्तान किरणले पनि खेलाडीकै समर्थन जनाए । तत्कालै अलमुताइरीले विद्रोह गरेका सबै खेलाडीलाई राष्ट्रिय टोलीबाट बाहिर राखे ।

Europass CV in Nepal