संस्कृतिविद् सत्यमोहन जोशी भन्छन्– टुकुचा खोलाकै रूप कायम गर्नुपर्छ

संस्कृतिविद् सत्यमोहन जोशी भन्छन्–  टुकुचा खोलाकै रूप कायम गर्नुपर्छ

संस्कृतिविद् सत्यमोहन जोशीले यसको ऐतिहासिक पक्ष हेरेर संरक्षण गर्नुभन्दा पनि खोलाकै रूपमा कायम गर्नुपर्ने धारणा राख्नु भएको छ । उतिवेला नै राजाहरूले खोलालाई बंग्याउँदा त्यसको समस्या अहिले देखिएको उहाँको भनाइ छ । ‘खोला सधैँ स्वतन्त्र हुनुपर्छ, तर इच्छुमती (टुकुचा)लाई राणा र राजाकालीन समयमै खुला बग्न दिइएन,’ मानिसको जीवन र सभ्यता जोडिएका नदीनाला संरक्षण गर्नु हाम्रो दायित्व हो, स्वतन्त्र ढंगले बग्न दिनुपर्छ ।’

नयाँपत्रिका अनुसार काठमाडौं महानगरपालिका प्रवक्ता नवीन मानन्धर पनि संस्कृतिविद् जोशीको भनाइमा सहमत छन् । उनले टुकुचालाई पनि अन्य खोलाजसरी खुला र स्वतन्त्र हुन दिनुपर्ने बताए । ‘काठमाडौं महानगर टुकुचा खाली गर्ने अभियानमा छ,’ उनले भने, ‘पानी बगाउन बनाइएको पुरानो संरचना नभत्काए पनि आसपासका संरचना निरन्तर भत्काउँछौँ ।’

के होला महानगरको कदम ?
काठमाडौं महानगरपालिकाले अधिकारीसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले दुई वर्षअघि गरेको अनुसन्धान प्रतिवेदनमा टेकेर गत बिहीबारदेखि टुकुचा उत्खनन गरिरहेको छ । तर, टुकुचामाथिका संरचना भत्काएर खोला खाली गर्ने महानगरको उक्त कदमप्रति मिश्रित टीकाटिप्पणी आउन थालेका छन् ।
कतिपयले खोला खाली गर्नुपर्छ भनेका छन् भने कतिपयले टुकुचाको संरचना ऐतिहासिक भएकोले संरक्षण गर्नुपर्ने बताएका छन् । केहीले यसको व्यवस्थापन निकै खर्चिलो हुने भएकाले जहाँजहाँ खाली छ त्यहाँ व्यवस्थित पार्ने र खोलामाथि पक्की घर बनाउनेलाई क्षतिपूर्ति भराउनुपर्ने सुझाब महानगरलाई दिएका छन् ।

उच्च अदालतले महानगरसँग प्रमाण माग्यो
उच्च अदालत पाटनले टुकुचा खुला गर्ने र अतिक्रमित जग्गा खाली गर्ने सम्बन्धमा काठमाडौं महानगरसँग प्रमाण माग गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र गोकर्ण डाँगीको संयुक्त इजलासले बुधबार ‘प्रमाण मिसिल झिकाउने’ आदेश जारी गरेको हो । यसअघि घरधनीले दिएको रिटको सुनुवाइ गर्दै शुक्रबारका लागि पेसी तोकिएको छ । कामपाले हात्तीसार क्षेत्रमा टुकुचा उत्खनन र व्यक्तिका घरटहरा भत्काउन थालेपछि अदालतमा रिट परेको थियो । उच्च अदालतले नक्सापासलगायतका प्रमाण माग गरेको छ ।

योजनाविनाको टुकुचा उत्खननको औचित्य छैन : अनुसन्धानकर्ता
कतिपय विज्ञहरूले विनायोजना महानगरले टुकुचा उत्खनन सुरु गरेको टिप्पणी गरेका छन् । अनुसन्धानकर्ता पद्मसुन्दर जोशीले विनायोजना यसरी मध्यसहरमा टुकुचा खोज्नुको अर्थ नहुने बताए । उनले भत्काउने वा खोला व्यवस्थित गर्ने कार्य शिर वा पुछारबाट सुरु गर्न सुझाव दिए । ‘खोलालाई खुला गर्नुपर्छ, शिरदेखि पुछारसम्म के छ अवस्था हेरेका छैनन्,’ उनले भने, ‘प्लान नै नबनाई मध्यसहरमा टुकुचा उत्खनन गर्दा त्यसको औचित्य देखिँदैन ।’

उनका अनुसार पुरानो खोलालाई भत्काउँदा महानगरले विज्ञ र अन्य सरकारी निकायसँग समेत राय सुझाव नलिई भत्काउनु व्यावहारिक देखिँदैन । यदि टुकुचालाई व्यवस्थित पार्ने हो वा खुला गर्ने हो भने त्यो काम महानगरले मात्रै गर्न सक्दैन । पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्रालय, पुरातत्व विभाग तथा अन्य सम्पदा र खोलानालासम्बन्धी विज्ञहरूसँग राय सुझाव लिनुपर्ने उनको भनाइ छ । नयाँपत्रिकाबाट