संस्कृतिविद् सत्यमोहन जोशीले यसको ऐतिहासिक पक्ष हेरेर संरक्षण गर्नुभन्दा पनि खोलाकै रूपमा कायम गर्नुपर्ने धारणा राख्नु भएको छ । उतिवेला नै राजाहरूले खोलालाई बंग्याउँदा त्यसको समस्या अहिले देखिएको उहाँको भनाइ छ । ‘खोला सधैँ स्वतन्त्र हुनुपर्छ, तर इच्छुमती (टुकुचा)लाई राणा र राजाकालीन समयमै खुला बग्न दिइएन,’ मानिसको जीवन र सभ्यता जोडिएका नदीनाला संरक्षण गर्नु हाम्रो दायित्व हो, स्वतन्त्र ढंगले बग्न दिनुपर्छ ।’
नयाँपत्रिका अनुसार काठमाडौं महानगरपालिका प्रवक्ता नवीन मानन्धर पनि संस्कृतिविद् जोशीको भनाइमा सहमत छन् । उनले टुकुचालाई पनि अन्य खोलाजसरी खुला र स्वतन्त्र हुन दिनुपर्ने बताए । ‘काठमाडौं महानगर टुकुचा खाली गर्ने अभियानमा छ,’ उनले भने, ‘पानी बगाउन बनाइएको पुरानो संरचना नभत्काए पनि आसपासका संरचना निरन्तर भत्काउँछौँ ।’
के होला महानगरको कदम ?
काठमाडौं महानगरपालिकाले अधिकारीसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले दुई वर्षअघि गरेको अनुसन्धान प्रतिवेदनमा टेकेर गत बिहीबारदेखि टुकुचा उत्खनन गरिरहेको छ । तर, टुकुचामाथिका संरचना भत्काएर खोला खाली गर्ने महानगरको उक्त कदमप्रति मिश्रित टीकाटिप्पणी आउन थालेका छन् ।
कतिपयले खोला खाली गर्नुपर्छ भनेका छन् भने कतिपयले टुकुचाको संरचना ऐतिहासिक भएकोले संरक्षण गर्नुपर्ने बताएका छन् । केहीले यसको व्यवस्थापन निकै खर्चिलो हुने भएकाले जहाँजहाँ खाली छ त्यहाँ व्यवस्थित पार्ने र खोलामाथि पक्की घर बनाउनेलाई क्षतिपूर्ति भराउनुपर्ने सुझाब महानगरलाई दिएका छन् ।
उच्च अदालतले महानगरसँग प्रमाण माग्यो
उच्च अदालत पाटनले टुकुचा खुला गर्ने र अतिक्रमित जग्गा खाली गर्ने सम्बन्धमा काठमाडौं महानगरसँग प्रमाण माग गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र गोकर्ण डाँगीको संयुक्त इजलासले बुधबार ‘प्रमाण मिसिल झिकाउने’ आदेश जारी गरेको हो । यसअघि घरधनीले दिएको रिटको सुनुवाइ गर्दै शुक्रबारका लागि पेसी तोकिएको छ । कामपाले हात्तीसार क्षेत्रमा टुकुचा उत्खनन र व्यक्तिका घरटहरा भत्काउन थालेपछि अदालतमा रिट परेको थियो । उच्च अदालतले नक्सापासलगायतका प्रमाण माग गरेको छ ।
योजनाविनाको टुकुचा उत्खननको औचित्य छैन : अनुसन्धानकर्ता
कतिपय विज्ञहरूले विनायोजना महानगरले टुकुचा उत्खनन सुरु गरेको टिप्पणी गरेका छन् । अनुसन्धानकर्ता पद्मसुन्दर जोशीले विनायोजना यसरी मध्यसहरमा टुकुचा खोज्नुको अर्थ नहुने बताए । उनले भत्काउने वा खोला व्यवस्थित गर्ने कार्य शिर वा पुछारबाट सुरु गर्न सुझाव दिए । ‘खोलालाई खुला गर्नुपर्छ, शिरदेखि पुछारसम्म के छ अवस्था हेरेका छैनन्,’ उनले भने, ‘प्लान नै नबनाई मध्यसहरमा टुकुचा उत्खनन गर्दा त्यसको औचित्य देखिँदैन ।’
उनका अनुसार पुरानो खोलालाई भत्काउँदा महानगरले विज्ञ र अन्य सरकारी निकायसँग समेत राय सुझाव नलिई भत्काउनु व्यावहारिक देखिँदैन । यदि टुकुचालाई व्यवस्थित पार्ने हो वा खुला गर्ने हो भने त्यो काम महानगरले मात्रै गर्न सक्दैन । पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्रालय, पुरातत्व विभाग तथा अन्य सम्पदा र खोलानालासम्बन्धी विज्ञहरूसँग राय सुझाव लिनुपर्ने उनको भनाइ छ । नयाँपत्रिकाबाट




