८ असोज, जनकपुरधाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पहिलोपटक जनकपुर- जयनगर रेल चढेका छन् । शनिबार पार्टी प्रवेश कार्यक्रमको लागि जनकपुर आएका ओली रेल चढेर धनुषाको विदेह नगरपालिका तीनकौरिया पुगेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन धनुषा पुग्नुभएका अध्यक्ष ओली तीनकौरिया चोकमा पुग्नको लागि जनकपुरधाममा रहेको रेल्वे प्लेटफर्मबाट महिनाथपुर स्टेशनसम्मको यात्रा गर्नुभएको हो । ओली चढ्ने भएपछि निर्धारित समयभन्दा एक घण्टा ढिलो गरेर जनकपुरबाट रेल गुडेको छ ।
जनकपुरधामबाट जयनगरका लागि सधै बिहान ११ बजे रेल गुड्ने गरेकोमा पूर्व प्रधानमन्त्री ओली चढ्ने भएपछि निर्धारित समयभन्दा एक घण्टा ढिलो दिउँसो १२ बजे मात्रै रेल गुडेको हो । रेल सेवा शुरू भएयता अहिलेसम्म ढिलो भएको थिएन । ओलीसहित एमालेका नेता तथा कार्यकर्ताका लागि एक सय ४२ वटा टिकेट काटिएका थिए ।
लोकतान्त्रिक समाजवादी पार्टीका सचेतक उमाशंकर अरगरियालाई एमालेमा प्रवेश गराउन अध्यक्ष ओली धनुषा पुग्नुभएको हो । यसैबीच अध्यक्ष ओलीलाई कालो झण्डा देखाउने जनता समाजवादी पार्टी जसपाका १२ जना कार्यकर्ता पक्राउ परेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको र एमालेले त्यसलाई समर्थन गरेको भन्दै उनीहरूले विरोध स्वरुप कालो झण्डा देखाएका हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता उमाशंकर अरगरिया, निवर्तमान सांसद अमृता अग्रहरि, कैलुदेवी विश्वकर्मा, जसपाकी निवर्तमान प्रदेश सभा सदस्य डा. रिना यादवलाई ओलीले पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सदस्य रामचन्द्र मण्डलले जानकारी दिए ।





