मुख्य सामग्रीमा जानुहोस्
Saturday, 10 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

भारतीय पुरुष रेस्लरलाई हराईन नेपालकी अस्मिता जुरेलीले

Himali Patrika 1 मिनेट पढाइ

नेपालकी अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार भारतीय पुरुष रेस्लरलाई पराजित गरेकी छन्। नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित प्रतियोगतामा जुरेलीले भारतका कपालीलाई सिंगल्स म्याचमा पराजित गरेको आयोजककी अध्यक्ष भगवती खड्काले जनाएकी छन्।

विजयादशमी तथा तिहारको उपलक्ष्यमा भृकुटिमण्डपमा भएको प्रतियोगिताको रोयल नम्बर म्याचमा नेपाली ब्रोले अमेरिकाका जेबी पुनलाई हराए।

सिंगल्स म्याचमै पाकिस्तानका कल्हा अलीले नेपालका कृष्ण मगर तथा भारतका अमित दलहाले नेपालका अभिराज सिंहलाई पन्छाए। पाकिस्तानका शेर खान र नेपालका हिक्मत थपलिया (स्कोरपियो) बीचको खेल रद्द गरिएको अध्यक्ष खड्काले जानकारी गराइन्। एकदिने प्रतियोगितामा नेपालबाट एक महिलासहित ५, अमेरिकाबाट १ तथा भारत र पाकिस्तानबाट २–२ गरी १० रेस्लर सहभागी थिए।

को हुन् जुरेली ?

उँचाइ ५ फिट ५ इन्च, तौल ५५ किलोग्राम। झट्ट हेर्दा लाग्दैन, अस्मिता सुनार (१९) कुनै रेस्लर हुन्। उनको शालीनताले त झनै यो सम्भावना टाढा लाग्छ। तर, रिङमा उनको स्वभाव फरक छ।

त्यसो त अस्मिता मोडलिङ पृष्ठभूमिबाट आएकी हुन्। आधा दर्जनभन्दा बढी म्यूजिक भिडियोमा उनको अभिनय देख्न पाइन्छ। चलचित्र भुलभुलैया मा उनी खलनायिका पनि बनिन्। तर, २०७० सालमा जसै महिला रेस्लर भगवती खड्कासँग उनको भेट भयो, बाटो बदलियो। अनि, भरतबहादुर विसुराल ‘हिमालयन टाइगर’ सँग रेस्लिङ–कला सिकिन्। र, अस्मिताबाट ‘जुरेली’ बनिन्।

तीन वर्षयता दर्जनौं पटक रिङमा उत्रिएकी उनी अब रेस्लिङमै करियर बनाउन चाहन्छिन्। तर, यसका लागि सहज छैन। नेपालमा टेलिभिजनमा रेस्लिङ हेर्ने दर्शक बढे पनि प्रतियोगिता भने कमै हुन्छ। त्यसमाथि पनि महिलाको सहभागिता न्यून छ। “नेपालमा हुने प्रतियोगिता छुटाएकी छैन” अस्मिता भन्छिन्, “अब अन्तर्राष्ट्रियस्तरमा खेल्ने रहर छ।”

रेस्लिङ खेल हो या मनोरञ्जन? धेरै झै अस्मितालाई पनि द्विविधा थियो। तर, खेल्न थालेपछि मात्र उनले गुह्य कुरो बुझिन्। “यो ७० प्रतिशत वास्तविक र बाँकी नाटक हो”, उनी भन्छिन्। उनका अनुसार, रेस्लिङलाई रोमाञ्चक बनाउन रेस्लरहरू रिहर्सल समेत गर्छन्।

मोडलिङ सजिलो कि रेस्लिङ? अस्मितालाई धेरैले गर्ने प्रश्न हो यो। तर, उनका लागि रेस्लिङ सजिलो/अप्ठेरो भन्दा पर चुनौती हो। “जीउ दुखेर हैरान हुन्छ” उनी भन्छिन्, “त्यसैले खेल अघि–पछि नियमित व्यायाम र अभ्यास जरुरी हुन्छ।”

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।