सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई मासिक ५० हजार भत्ता दिने भएको छ। यसअघि उनलाई मासिक २५ हजार रूपैयाँ दिने गरिएकोमा अब ५० हजार दिइने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
‘राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला)लाई सहज जीवनयापनका लागि यसअघि मासिक २५ हजार रूपैयाँ भत्ता दिँदै आएकोमा उक्त रकममा वृद्धि गरी मासिक ५० हजार रूपैयाँ उपलब्ध गराउने निर्णय भएको छ’, मन्त्री कार्कीले भने।
सत्यमोहनलाई नर्स
सरकारले संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि नर्स उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको हो ।
जोशी विगत केही दिनदेखि डेंगु संक्रमणका कारण अस्पताल भर्ना भएका छन् । उनी मुटु तथा फोक्सोका रोगी हुन् । पछिल्लो केही महिनायता उनी बाहिर हिँड्डुल गर्न सक्ने अवस्थामा छैनन् ।
यस्तै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला)लाई सहज जीवनयापनका लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत गरेको छ । यसअघि राईले सरकारबाट मासिक २५ हजार रुपैयाँ भत्ता प्राप्त गर्दै आएका थिए ।




