काठमाण्डाै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाण्डाैजस्तो सांस्कृतिक सहरमा विकासको नाममा संरचना भत्काउने काम गर्न नहुने बताउनुभएको छ ।
आज आइतवार विश्वेश्वर महादेव मन्दिर पुनर्निर्माण कार्यको थालनी एवम् हनुमानढोका नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले काठमाण्डाै उपत्यका पर्यटकीय दृष्टिकोणले अत्यधिक महत्त्वपूर्ण रहेको भन्दै बाटो फराकिलो गर्ने नाममा घर भत्काउन नहुने बताउनुभयो । उहाँले पहिलाका भौतिक संरचनाहरूको संरक्षण गर्नसके मात्रै सम्पदाको महत्त्व रहने भन्दै काठमाण्डाैलाई पर्यटकीय नगरी बनाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सहरका पहिलाका घरहरू जस्ता छन् त्यस्तै राख्नुपर्छ । साँघुरो बाटो छ भनेर फराकिलो गर्ने नाममा घर भत्काउने, यसलाई मास्ने काम गर्नु हुँदैन । हिजो जुन खालको यो सहरको बनावट छ, त्यसको अवस्था छ, त्यसको अवस्थालाई संरक्षण र कायम गर्नुपर्छ । त्यसरी नै हामीले यसलाई विश्वमा चिनाउन सक्छौँ ।’
मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई दिगो बनाउन मन्त्रालयले पर्यटन दशक घोषणा गरेको र अब क्रमशः देशको पर्यटनको काममा मन्त्रालय लागिपर्ने प्रतबवद्धता जनाउनुभयो । उहाँले पर्यटनबाट नै देशमा रोजगारी र आर्थिकोपार्जन हुने भन्दै पर्यटन क्षेत्रलाई थप व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री श्रेष्ठले अहिलेको समाजले आधुनिकताको नाम पुराना संस्कृतिलाई भुल्दै जान थालेको गुनासाे गर्नुभयाे । उहाँले मन्त्रालयले पुरानै शैलीमा संरचनाहरूको स्थापना गर्ने योजना बनाएको बताउनुभयो । उहाँले पर्यटकीय संरचना निर्माणसँगै काठमाण्डाै उपत्यकालाई नै कसरी पर्यटकीय क्षेत्र बनाउने भन्नेबारेमा पनि मन्त्रालयले योजनाबद्धरूपमा काम गरिरहेको बताउनुभयो ।
हनुमान ढोकादेखि स्वयम्भूसम्म दुई दशमलव दुई किलोमिटरको सम्पदामार्ग निर्माण हुँदैछ । पर्यटकलाई शान्तिपूर्णरूपमा अवलोकन गराउने उद्देश्यले यो सम्पदा मार्ग निर्माण गर्न लागिएको पनि मन्त्री श्रेष्ठले बताउनुभयो । यो सम्पदा मार्गमा ट्रेल सञ्चालन हुने र सांस्कृतिक सम्पदा झल्काउने, जन्मदेखि मृत्युसम्मका संस्कार हेर्न सकिने उहाँले उल्लेख गर्नुभयो । उहाँले पुराना सीप, शैली, पेसा, व्यवसायलाई पुनः स्थापित गरी कसरी रोजगारी सिर्जना गर्ने भन्नेबारेमा सोच्न जरुरी रहेको बताउनुभयो ।
काठमाण्डाैका पर्यटकीय स्थानको भ्रमणका लागि पर्यटकलाई घुमाउन ४० जना जनशक्ति सञ्चालन गरेकाे मन्त्री श्रेष्ठकाे भनाइ छ । पर्यटकले शान्तिपूर्णरूपमा यात्रा गर्न नपाएको गुनासो गरिरहेको भन्दै उहाँले यो सम्पदा मार्गमा सम्भव भएसम्म मोटरसाइकल, अन्य गाडी चल्न नदिने गरी निर्माणको व्यवस्था गरेको बताउनुभयो ।




