मुख्य सामग्रीमा जानुहोस्
Saturday, 10 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

एमालेको दाबी : स्थानीय चुनाव यता एक लाख भन्दा बढीले पार्टी प्रवेश गरे

Himali Patrika 1 मिनेट पढाइ

नेकपा एमालेले स्थानीय तहको निर्वाचन यता एक लाखभन्दा बढी व्यक्ति विभिन्न पार्टीबाट आफ्नो पार्टीमा प्रवेश गरेको दाबी गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्व सन्ध्यामा एमालेका शीर्ष तहका नेतामात्र होइनन्, कतिपय कार्यकर्ताले पनि यस प्रकारको दाबी सामाजिक सञ्जालमार्फत गरिरहेका छन् ।

विभिन्न पार्टी छाडेर आफ्नो पार्टीमा आएका एक लाखमध्ये ५० हजारभन्दा बढी व्यक्ति मधेस प्रदेशकै रहेको दाबी एमालेले गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली आफै मधेस प्रदेशका विभिन्न जिल्लामा पुगेर पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने गरेका छन् । कतिपयलाई उनले बालकोटस्थित निवासमै पार्टी प्रवेश गराउने गरेका छन् ।

स्थानीय चुनाव यता एक लाखभन्दा बढी व्यक्ति एमालेमा प्रवेश गरेको सो पार्टीका उपाध्यक्ष विष्णु पौडेलले पनि दाबी गरे । उक्त दाबीको आधार के हो भन्ने रातोपाटीको जिज्ञासामा उनले भने, ‘आधार पार्टी कार्यालयमा छ त्यहाँ गएर हेर्नसक्नु हुन्छ । प्रवेश गरेका सबैजनाको लिस्ट त्यहाँ छ ।’

यसरी पार्टीमा प्रवेश गरेका सबैलाई पार्टीको सदस्यता भने तत्कालै नदिइएको जिकिर गर्दैै उनले अहिले थोरैलाई मात्र सदस्यता प्रदान गरिए पनि विस्तारै सबैलाई सदस्यता दिइने बताए । तर पार्टीमा प्रवेश गरेका सबैको नाम पार्टी कार्यालयमा रजिष्टर्ड भइसकेको उनको भनाइ छ ।

एमालेले पार्टी प्रवेश गराउने अभियान अन्य प्रदेशको तुलनामा मधेस प्रदेशमा बढी चलाएको देखिन्छ । लगभग प्रत्येक महिना एमाले ओली मधेस प्रदेश पुगेकै हुन्छन् । यसअघि उनी लोसपाका नेता उमाशंकार अरगरियालाई पार्टी प्रवेश गराउन असोज ९ गते जनकपुर पुगेका थिए । यस्तै, भदौ २७ गते नेपाली कांग्रेसका युवा नेता सन्तोष यादवलगायतका नेतालाई पार्टीमा प्रवेश गराउन पनि उनी जनकपुर पुगेका थिए ।

भदौ ३१ मा सिरहामा पनि उनी त्यस्तै कार्यक्रमका सिलसिलामा पुगेका थिए । उनी पार्टी प्रवेश तथा अन्य कार्यक्रममा सहभागी हुनका लागि असोज १५ गते सप्तरी जाँदैछन् । एमालेका मधेस प्रदेश अध्यक्ष रामअवतार यादवले स्थानीय चुनावदेखि यता मधेस प्रदेशबाट मात्र ५० हजारभन्दा बढी व्यक्ति विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको दावी गरे ।

उनले भने, ‘प्रवेश गर्नेहरुले नै लिखित रुपमा जानकारी गराएको आधारमा हिसाब गर्दा ५० हजारभन्दा बढी व्यक्ति प्रवेश गरिसकेका छन् । मधेसमा अझै थुप्रै मान्छे पनि एमालेमा प्रवेश गर्ने तयारीमा छन् ।’ असोज १५ गते सप्तरीमा आयोजना हुने कार्यक्रममा पनि हजारौंको संख्यामा पार्टी प्रवेश गर्न लागेको अध्यक्ष यादवले दावी गरे ।

‘प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव आउँदासम्म मधेस प्रदेशबाट मात्र एक लाख मान्छे एमालेमा प्रवेश गरेको हिसाब आउन सक्छ,’ उनले भने, ‘त्यसका लागि व्यापक तयारी भइरहेको छ ।’ रौतहटका अजय गुप्ता लोसपा छाडेर एमालेमा प्रवेश गर्दा उनीसँगै पाँच हजार जना एमालेमा प्रवेश गरेको अध्यक्ष यादवको दाबी छ ।

यस्तै, धनुषाका सन्तोष यादव कांग्रेस छाडेर एमालेमा प्रवेश गर्दा १० हजार, उमाशंकर अरगरिया लोसपा छाडेर एमालेमा प्रवेश गर्दा चार हजार, सिरहाका गोपाल यादव एमालेमा प्रवेश गर्दा आठ हजार, पर्साका प्रल्हाद गिरी पाँच हजार कार्यकर्ता लिएर एमालेमा प्रवेश गरेको उनले दाबी गरे ।

उनले भने, ‘दुई चार सय जना प्रवेश गरेको कुनै हिसाब किताब छैन, काठमाडौंकै विभिन्न कार्यक्रम तथा बालकोटमै गएर यसरी हजारौं व्यक्ति पार्टी प्रवेश गरेका छन् ।’

कार्यकर्ता व्यवस्थापन नहुँदा असन्तुष्टि

एमालेमा हजारौं व्यक्ति प्रवेश गरेका छन् तर त्यसको व्यवस्थापन नहुँदा कतिपय रुष्ट पनि हुन थालेका छन् । रौतहटका अजय गुप्ता लोसपाबाट एमालेमा प्रवेश गरेको ६ महिना हुन थालेको छ तर हालसम्म उनलाई जिम्मेवारी तोकिएको छैन । गुप्ताले भने, ‘हालसम्म कुनै जिम्मेवारी दिइएको छैन, सायद पार्टीले यसको बारेमा सोच्दै होला ।’

आफू पार्टीमा आउँदा यो पद वा त्यो पद भनेर नआए पनि उचित जिम्मेवारी दिने भनिएको तर हालसम्म कुनै पद नदिएको उनको गुनासो छ । माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका केशव ढुंगाना (सर्लाही) ले पनि हालसम्म कुनै जिम्मेवारी पाएका छैनन् । वैशाखमा उनी एमालेमा प्रवेश गरेका थिए ।

उनी भन्छन्, ‘हालसम्म पार्टीले कुनै जिम्मेवारी दिएको छैन, तर त्यसमा मेरो कुनै गुनासो छैन ।’ पार्टीले आफ्नो बारेमा केही न केही सोच्दै होला भन्ने आफूलाई लागेको उनको भनाइ छ । ‘सायद चुनावपछि व्यवस्थापन हुन्छ होला ।’

एमालेका मधेस प्रदेश अध्यक्ष यादव विस्तारै सबैको व्यवस्थापन हुने बताउँछन् । त्यसको तयारी पनि भइरहेको उनको भनाइ छ । ‘केन्द्रीयस्तरका नेताहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने केन्द्रकै शीर्ष नेताहलाई नै थाहा होला तर मधेस प्रदेशमा धेरैको व्यवस्थापन गरिसकेका छौं,’ उनले भने, ‘अजय गुप्तालाई प्रदेश कमिटीमा राखिएको छ, केन्द्रमा अरु पद मागे भए मलाई त्यो जानकारीमा छैन तर अहिले उहाँलाई प्रदेश सदस्यमा राखिएको छ ।’

शीर्ष नेताबाहेक अधिकांश नेताहरुको व्यवस्थापन भइसकेको दावी गर्दै उनले धेरैलाई प्रदेश समिति सदस्यमा राखिएको र केहीलाई प्रदेश समितिको सचिवालयमा राखिएको बताए । जिल्ला कमिटीमा समावेश गर्न अलि गाह्रो भइरहेको उनको भनाइ छ । ‘जिल्लामा सल्लाहकार कमिटी बनाइएको छ, त्यसमा अधिकांशलाई राखिएको छ,’ उनले भने, ‘चुनावपछि विशेष जिल्ला अधिवेशन गरेर नयाँ र पुराना सबैलाई व्यवस्थापन गर्छौं ।’ रातोपाटीबाट 

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।