तराजु छाडेर हलो बोक्न मलाई केही लाज छैन : रवीन्द्र मिश्र

तराजु छाडेर हलो बोक्न मलाई केही लाज छैन : रवीन्द्र मिश्र

१२ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी एकताका लागि नाम र चुनाव चिह्नमा अल्झिन नहुने बताएका छन् ।

बुधबार राप्रपा र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण समूहबीच भएको एकता घोषणा कार्यक्रममा उनले भने, ‘नाम र चुनाव चिह्नमा अल्झिएर केही हुन्न भनेर हलो बोक्ने निर्णय गरेँ ।’

राप्रपासँग एकता हुने भएपछि केही साथीले तराजु छाडेर हलो बोक्ने निर्णय गरेको हो भन्दै ठट्टा गरेको भन्दै मिश्रले हलोले ६० प्रतिशत नेपालीको प्रतिनिधित्व गर्ने बताए । मिश्र अध्यक्ष रहेको विवेकशील साझा पार्टीको चुनाव चिह्न तराजु थियो । राप्रपाको भने हलो छ ।

‘६० प्रतिशत नेपालीको प्रतिनिधित्व गर्ने हलो बोक्न मलाई केही लाज छैन’ उनले भने ।

पार्टी एकता गर्दा दुई अध्यक्ष प्रणाली उपयुक्त नहुने भन्ने नेकपा एकता हुँदा र अन्य दलको एकताका क्रममा देखिएको भन्दै आफूहरु नयाँ प्रणालीमा गएको मिश्रले बताए ।

हरेक पार्टीमा द्वन्द्व हुने भन्दै मिश्रले तर नेतालाई बलियो बनाउनुपर्ने बताए ।
४ बुँदे सहमतिमा के छ?

राप्रपा र मिश्र नेतृत्वको वृहत्तर ध्रुविकरण पक्षबीच भएको एकता घोषणा पत्रमा चार बुँदे सहमति उल्लेख गरिएका छन्।

पहिलो नम्बरमा मिश्रको पदबारे उल्लेख छ। ‘विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुनेछन् र पार्टीका सबै नेतृत्वदायी समितिहरूमा सामेल हुनेछन्,’ पहिलो बुँदामा लेखिएको छ।

यस्तै राप्रपामा मिश्रसँगै आउनेलाई कार्यसम्पादन, पदाधिकारी तथा केन्द्रीय समितिमा तहगत समायोजन गरिने सहमति छ। त्यसमा लिङ्देन र मिश्रबीच समझदारीमा १० दिनभित्र समायोजनकका काम सक्ने उल्लेख छ।

प्रदेश तथा अन्य तहगत समायोजनका लागि राप्रपाबाट २ र मिश्र पक्षबाट २ गरी चार सदस्यीय कार्यदल बनाइएको पनि उल्लेख छ।

निर्वाचन आइसकेकोले तहगत समायोजन गर्दा काम नरोक्न र एक आपसमा मिलेर निर्वाचनका लागि जोडदार रूपमा तयारी गर्न आह्वान गर्ने सहमति पनि भएको छ।