प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा स्वीकृत

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा स्वीकृत

१२ असोज, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा स्वीकृत भएको छ । असोज १० गते बसेको एन्फा कार्यसमिति बैठकले अल्मुताइरीले दिएको राजीनामा स्वीकृत गरेको हो ।

नेपालले असोज ११ गते बंगलादेश विरुद्ध मैत्रीपूर्ण खेलअघि एन्फाको कार्यसमिति बैठकले राजीनामा स्वीकृत गरेको एन्फाका एक पदाधिकारीले जानकारी दिए ।

अल्मुताइरीले केही साताअघि एन्फामा राजीनामा बुझाएका थिए । बंगलादेशसँगको खेलका लागि एन्फाले प्रदीप हुमागाईँलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । मंगलबार नेपालले उक्त खेल ३-१ ले जितेसँगै हुमागाईंको कार्यकाल पनि सकिएको छ ।

अधिकारी र धिमाल एन्फा सदस्यमा निर्वाचित

रुपेश अधिकारी र दिपेन्द्र धिमाल अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् । एन्फाको बुधबार जारी विशेष साधारण सभाले अधिकारी र धिमाललाई निर्वाचित गरेको हो ।

४ मध्य विशेष साधारण सभाका एक प्रतिनिधिका अनुसार अधिकारीले सर्वाधिक ५४ र धिमालले ४७ मत प्राप्त गरेका छन् । लोकेन्द्र गुरुङले ४५ र दीपक थापाले ७ मत प्राप्त गरेका थिए । धिमाल संस्थापन पक्षका र अन्य तीन जना उम्मेदवार निर्वतमान अध्यक्ष कर्मा छिरङ शेर्पा पक्षका हुन् ।

असार ६ गतेको निर्वाचनमा १५ जना सदस्य निर्वाचित हुनु पर्नेमा १३ जना मात्र भएका थिए । अन्तिम ४ जनाको बराबर ३९ मत आएपछि विशेष साधारण सभाले टुंगाउने निर्णय अनुसार आज निर्वाचन भएको हो । यो नतिजासँगै २१ सदस्यीय कार्यसमिति पूर्ण भएको छ । यसअघिको निर्वाचनले पंकज नेम्बाङअध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष र १३ सदस्य निर्वाचित गरेको थियो ।