एक्सनमा सुनिता डंगोल : बजार अनुगमनका क्रममा ‘डी एण्ड डी खाद्य सप्लायर्स’ को सामान जफत गरिन

एक्सनमा सुनिता डंगोल : बजार अनुगमनका क्रममा ‘डी एण्ड डी खाद्य सप्लायर्स’ को सामान जफत गरिन

काठमाडौँ।  चाडवर्ज नजिकिदै गर्दा काठमाडौँ उपमहानगरले बजार अनुगमन सक्रिय बनाएको छ। त्यसका लागि महानगरकी उपप्रमुख सुनिता डंगोलको नेतृत्वको टिम एक्सनमा उत्रिएको छ।  बुधबार काठमाडौं महानगरले अनुगमनको क्रममा ‘डी एण्ड डी खाद्य सप्लायर्स’ को सामान जफत गर्नुका साथै संगम स्वीटलाई चेतावनी दिएको छ।

उपमेयर सुनिता डंगोलको नेतृत्वमा बजार अनुगमनको क्रममा ‘डी एण्ड डी खाद्य सप्लायर्स’ को सामान जफत गर्नुका साथै संगम स्वीटलाई चेतावनी दिएको उनको सचिवालयले जानकारी दिएको छ।

उपमेयर डंगोलले कालिमाटी र कुलेश्वर क्षेत्रमा अनुगमन गर्दा केही खाद्यान्न पसलमा म्याद गुज्रिएको खाद्य सामग्री भेटिएको र त्यसलाई जफत गरेको बताइन्। ‘अनुगमनका क्रममा कतिपय ठाउँमा राम्रो भेटियो। कतिपय ठाउँमा भने उपभोक्ताको स्वास्थ्यमाथि चरम लापरबाही गरेको भेटियो,’ उनले भनिन्, ‘कतिपय खाद्यान्न पसलमा घुन लागेको चामल, चिउरा लगायतका खाद्य सामग्री पनि भेटियो। ती सबै सामग्री जफत गरेका छौं।’

त्यस्तै, संगम स्वीटको पनि अनुगमन गर्ने क्रममा अशुद्ध तेल प्रयोग गरेको कारण चेतावनी दिएको बताइन्। ‘त्यहाँ दुइटा किचेन रहेछ। एउटा किचेनमा प्रयोग भएको तेल शुद्ध भेटियो,’ उनले भनिन्, ‘अर्को किचेनमा प्रयोग भएको तेल भने अशुद्ध भेटियो। विज्ञको टोलीले परीक्षण गर्दा एउटा किचेनमा प्रयोग भएको तेल रातो बलेको र जुन प्रयोग नै गर्न नमिल्ने रहेछ।’

उनले संगम स्वीटलाई आइन्दा यस्तो प्रयोग गरे कारबाही गर्ने चेतावनी समेत दिएको बताइन्। महानगरपालिकाले आज कालिमाटीस्थित फलफूल तथा तरकारी बजार लगायतको अनुगमन गरी खाद्यान्न पसलमा पनि अनुगमन गरेको थियो।