मुख्य सामग्रीमा जानुहोस्
Saturday, 17 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

हिमश्रृंखलामा कीर्तिमानि ४९ वर्षिया हिलारी मनास्लुमा बितिन्

Himali Patrika 1 मिनेट पढाइ

‘म हिमाल चढ्न एकदमै उत्सकु छु। मेरो जन्म हिमालमै मर्नका निम्ति भएको हुनुपर्छ,’ विश्वका अधिकांश उच्च हिम हिमश्रृंखलामा कीर्तिमान राखेकी ४९ वर्षिया हिलारी नेल्सनले फ्रान्सको मन्ट ब्ल्यांकबाट फर्किएपछि द ग्याजेटसँग भनेकी थिइन्।

सन् २०१८ मै आफ्नो मृत्युबारे उनको कल्पना सत्य साबित भएको छ। बुधबार उनको पार्थीव शरीर नेपालको मनास्लु हिमालको आधार क्षेत्रमा भेटियो। मनास्लु हिमालमा स्की गर्ने क्रममा आएको हिम पहिरोले उनले ज्यान गुमाइन्।

बाल्यकालदेखिनै साहसिक खेलमा रूची भएकी हिलारीले तीन वर्षको उमेरदेखिनै स्कीमा पाइला राखेकी थिइन्। हरेक सप्ताहान्तमा उनका अभिभावकले अमेरिकाको सियटलमा उनलाई स्की खेल्न छोडिदिन्थे। स्कीको प्रारम्भिक अभ्यास हिलारीले त्यहीँ गरिन्।

कलेज पढ्दा बिदा मनाउन युरोप पुगेपछि उनले स्कीलाई नै आफ्नो भविश्य बनाउने अठोट गरिन्। त्यसपछि उनले अमेरिका र युरोपका हिमालमा मात्र होइन, संसारकै अग्ला ‍हिमालहरूमा स्की गर्ने अठोट गरिन्।

यसबारे एक अन्तरवार्तामा उनले भनेकी छिन्। ‘कलेज सकेपछि स्कीमा भविष्य खोज्दै म अल्प्स पुगेकी थिएँ। त्यो क्षेत्र मेरा निम्ति अर्को विश्वविद्यालय बन्यो। पाँच वर्ष त्यहाँ विताएपछि म कुशल स्की प्लेयर बनेर फर्किएँ।’ स्कीमा अमेरिकाको प्रतिनिधित्व गरेकी उनले सन् १९९६ देखि राष्ट्रलाई पदक दिलाउन थालिन्। उनी युरोपियन वुमन एक्सट्रिम स्किइङ च्याम्पियनसमेत बनिन्।

अमेरिकाको स्की टिममा १४ वर्षको उमेरदेखिनै प्रवेश गरेकी उनले १६ वर्षको उमेरमा युएस डाउनहीलको उपाधि जितिन्। त्यसपछि पछाडि फर्केर हेर्नु नपरेकी उनले सन् १९९७ को विश्व डाउन हिल च्याम्पियनसिपमा स्वर्ण पदक जितिन्।

स्कीको विश्वकपमा उनी तीन पटक च्याम्पियन बनिन् भने २७ पटक उत्कृष्ट १० मा परिन्। नेशनल जियोग्राफिकका अनुसार उनी ८ हजार मिटर भन्दा अग्ला हिमालमा स्कि गर्ने एक मात्र महिला हुन्। नेपालका अधिकांश ८ हजार माथिका हिमालमा सफल आरोहण र स्की गरेकी उनी २४ घण्टाभित्र सगरमाथा र ल्होत्से चढ्ने पहिलो महिला बनिन्।

सन् २०१२ मा उनले २४ घण्टाभित्र ८ हजार मिटर भन्दा अग्ला दुई हिमाल सगरमाथा र लोत्से हिमाल आरोहण गरेर कीर्तिमान बनाएकी थिइन्। सन् २०१५ मा उनले मकालु हिमालबाट स्की गरिन्। मकालु हिमालमा स्की गर्ने उनी पहिलो महिला हुन्।सन् २०१८ मा हिलारीले आफ्ना श्रीमान जिमसँग मिलेर ८ हजार ५१६ मिटर अग्लो लोत्से हिमालको टुप्पोबाट स्की गरेर फेदसम्म पुगिन्।

यस्तै उनले भारतको पप्सुरा हिमालमा स्की गरेरै चढ्ने र ओर्लिने रेकर्ड आफ्नै नाममा राखिन्।यस्तै तिब्बत क्षेत्रबाट चोयूमा पनि उनले स्की गरिन्। होली पिक्सका नामले परिचिति मंगोलियाको पाँच वटा चुलीमा पनि उनले सफलतापूर्वक स्की गरिन्।

विश्वका १६ मुलुकका ४० वटा हिमाल आरोहण गरेकी उनी नर्थ फेस टिमको पहिलो महिला क्याप्टेन समेत हुन्। सन् १९७२ मा जन्मेकी उनी स्की माउन्टेनर हुन्। दुई सन्तानकी आमासमेत रहेकी नेल्सन आफ्ना सन्तानलाई पनि हिमाल आरोहण गर्न सिकाउँथिन्। हिमालमै मर्न जन्मिएको भन्ने इच्छा गरेकी हिलारीको प्राण नभन्दै हिमालमै गएको छ। उनको निधनले अमेरिकाले कुशल खेलाडी र नर्थ फेसले साहसिक क्याप्टेन गुमाएको छ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।