तुलसीपुर । सल्यानमा भएको दुर्घटनामा गाडीमा सवार सवैको मृत्यु भएको छ । यस अघि ८ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परेर घाइते हुनुभएका तिलक वलीको कोहलपुरमा उपचारको क्रममा मृत्यु भएपछि दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
घाइते वलीले जिल्ला प्रहरी कार्यालय सल्यानकाे हटलाइन १०० मा फोन गरेर ८ जनाकाे ज्यानजानेगरी भएकाे जीप दुर्घटनाको जानकारी गराएपछि प्रहरी र स्थानीयले उद्धार गरेर उपचारका लागि अस्पताल पठाएका थिए । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको थियो । वलीको आज बेलुकी ५ बजे मृत्यु भएको सल्यान प्रहरीले बताएको छ ।
सल्यानको कपुरकोट गाउँपालिका –३ वनस्पती र मुलपानीको बिचमा पर्ने घुम्तिमा जीप दुर्घटनामा परेर कपुरकोट गाउँपालिका–६ सिनबाङ निबासी धर्म वली, बसन्त वली, कुमारी वली, टोपबहादुर वली, ललित वली, खुमलाल वली, चालक जीत बहादुर बोहरा, र सुरेश खत्रीको मृत्यु भएको थियो । बाँकेको ढकेरीमा बिहेको कार्यक्रम सकेर सल्यानको कपुरकोट गाउँपालिका–६ फर्किदै गरेको रा१ज ५६३ नम्बरको डबल क्याप जीप दुर्घटनामा परेको थियो ।
एकै घर परिवारका ६ जनासहित नौ जनाको मृत्यु भएपछि कपुरकोट गाउँपालिकाले बिहीबार शोक मनाउन पालिकाको सबै कार्यालय बन्द गराएको थियो।बिहीबार बाँकेमा मृत्यु भएका घाइते वलीले सेतोपाटीसँग तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा कुरा गर्दै चालक निदाएका कारण जीप दुर्घटनामा परेको बताएका थिए।



