मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

ग्रामीण क्षेत्रका यात्रु प्रतिकिलाेमिटरकाे २५ रुपैयाँसम्म भाडा तिर्न बाध्य

Himali Patrika 1 मिनेट पढाइ

धादिङ ।  ग्रामीण भेगका बस्तीमा जाने प्रायः सबै सडक कच्ची छन् । बर्खाको बेला भत्किएका सडक मर्मत नहुँदा ठूला गाडी गुड्न सक्दैनन् । दशैँमा यात्रुको चाप बढेका बेला ग्रामीण सडकमा चल्ने साना गाडीले मनोमानी भाडा असुलेको पाइएको छ ।

उकालो–ओरालो र घुम्तीमा यात्रुवाहक बस जानै सक्दैनन् । त्यसैको मौका छोपेर निजी नम्बर प्लेटका जीपले मनोमानी भाडा असुलेको गुनासो यात्रुले गरेका छन् । चालकसहित ६ जनाको सिट क्षमता भएका गाडीले १५ जनाभन्दा बढी यात्रु बोक्ने गरेका छन् । चाडपर्व नजिकिएसँगै निजी गाडीले यात्रुसँग असुल्ने भाडाको त झनै कुरा गरिसक्नु छैन ।

यात्रुको भार त छँदैछ, खाद्यान्न, लत्ताकपडालगायतका सामानको भार पनि उस्तै हुन्छ । यसरी नै जोखिम मोलेर यात्रा गर्न यात्रु पनि बाध्य छन् । सदरमुकामबाट जीप चढेर गन्तव्यतर्फ जाँदै गर्नुभएका यात्रु शिव मगर भन्नुहुन्छ, ‘बाटो अप्ठ्यारो छ, सबैलाई बोक्नैपर्छ भन्दै जीपले मनलाग्दी भाडा उठाउँछ, अरू गाडी चल्दैन, त्यसैले चर्को भाडा तिरेरै हिँड्न बाध्य छौँ ।’

एक किलोमिटरको भाडा २५ रुपैयाँसम्म तिर्न यात्रु बाध्य छन् । प्रतिवाद गरे चालकले गाडी चढ्नै नदिने र पैदल नै हिँड्नुपर्ने यात्रुको बाध्यता छ । सदरमुकाम धादिङबेँसीबाट ६ किलोमिटरको दुरीमा रहेको स्याउली गएको भाडा एक सय ५० रुपैयाँ तिर्नुपरेको मगरले सुनाउनुभयो ।

सदरमुकाम धादिङबेँसीबाट जिल्लाको उत्तरी क्षेत्रमा जोड्ने टोड्के भन्ने ठाउँ झन्डै १५ किलोमिटरको दुरीमा छ । धादिङबेँसीबाट उत्तरी धादिङ जोड्ने सिमाना किन्ताङफेदीसम्मको दुरी जम्माजम्मी २७ किलोमिटर छ । यी सडकमा गुड्ने जीपले १५ देखि ३० किलोमिटरसम्मको भाडा पाँच सयदेखि सात सय रुपैयाँसम्म असुल्दै आएका छन् । त्यो पनि सामानको भाडा छुट्टै तिर्नुपर्छ । नीलकण्ठ नगरपालिका ३ धादिङबेँसीबाट नेत्रावती ५ जाँदै गर्नुभएका तुलबहादुर तामाङ भन्नुहुन्छ, ‘अघिल्ला वर्षहरूमा दुई सय रुपैयाँ भाडा थियो, अहिले पाँच सय रुपैयाँ लिन्छन् ।’

यातायात व्यवस्था विभागको भाडादर हेर्ने हो भने कच्ची, हिलेधुले र पहाडी बाटोमा प्रतिकिलोमिटर पाँच रुपैयाँ ५० पैसा भाडादर छ । सदरमुकामबाट जिल्लाको खरी, मैदी, धुवाकोट, खाल्टेलगायतका बस्तीमा पुग्ने गाडीले यसरी मनोमानी भाडा असुलिरहेका छन् ।

पछाडि र छतमा समेत टनक्कै सामान कोचेर हिँड्ने गाडीका कारण जोखिमपूर्ण त छँदैछ चर्को भाडा तिर्नु यात्रुको बाध्यता पनि छ । ‘कच्ची सडकमा यात्रुवाहक बस जान सक्दैनन्, साना गाडी नचढे हिँड्नुको विकल्प छैन’, मैदीबाट सदरमुकाम आउनुभएका यात्रु कृष्ण अधिकारीले भन्नुभयो, ‘बाटो राम्रो नभएकाले बस हिँड्दैनन्, बाध्यताले जीप चढेर हिँड्नुपर्छ ।’

यस्ता जीपसँग बाटो इजाजतपत्र हुँदैन । क्षमताभन्दा तेब्बरसम्म भार बोक्छन् । टनक्कै सामानमाथि छतमा र पछाडिको भागमा समेत मान्छे झुन्ड्याएर यात्रा गराइरहेका छन् । सदरमुकामबाट ग्रामीण बस्तीमा जाने जीपले जोखिमपूर्ण यात्रा गराइरहँदा ट्राफिक प्रहरी निरीह छन् । दुर्घटना भइहाल्यो भने आउने समस्याको चालकले ख्यालै गरेका हुँदैनन् ।

चालक भने कच्ची सडकमा जोखिम मोल्न परेकै कारण भाडादर महँगो लिनुपरेको बताउँछन् । ‘एक पटक गाउँ गएर फर्किँदा तेल खर्च र मर्मत खर्च छुट्याउँदा उल्टै घाटा लाग्छ, बाटो सजिलो भइदिए त भाडा पनि सस्तोमा बोक्न सकिन्थ्यो’, चालक दीपक श्रेष्ठले भन्नुभयो ।

एउटा जीपले १५ देखि १७ जनासम्म यात्रु बोक्छ । त्यसमा खाद्यान्न, लत्ताकपडालगायतका सामान पनि उत्तिकै हुन्छ । जोखिमपूर्ण तरिकाले यात्रु ओसारपसार गरेर चर्को भाडा उठाएको विषयमा आधिकारिक यातायात व्यवसायी प्रालि पनि अनभिज्ञ नै छन् । निजी गाडीले चर्को भाडा उठाएर जोखिमपूर्ण यात्रा गराइरहेको देखे पनि कसैले बोल्न सकेका छैनन् । महँगो भाडा असुलेर गुडिरहेका निजी गाडीलाई प्रशासनले नियन्त्रणमा ल्याउनुपर्ने संयुक्त यातायात बस तथा जीप व्यवसायी सङ्घ धादिङका अध्यक्ष राम थापाले बताउनुभयो ।

हुन त संयुक्त यातायात बस तथा जीप व्यवसायी सङ्घमार्फत उत्तरी धादिङ चल्ने जीपले पनि निजी जीपले जत्तिकै भाडा उठाइरहेका छन् । छतमा र पछाडिको भागमा पनि यात्रु कोचेर जोखिमपूर्ण यात्रा गरिरहेकोप्रति स्थानीय प्रशासन पनि मौन छ । पालिकाले पनि बिग्रिएका कच्ची सडक स्तरोन्नति गरेर ठूला बस सञ्चालनमा ल्याउनेतर्फ ध्यान दिएको देखिँदैन । दशैँ सुरु भएदेखि झनै यस्ता साना गाडीको मनोमानी बढेको छ । बर्खाको बेला बाटो खराब छ भन्दै महँगो भाडा उठाउँदै आएका गाडीले चाडपर्वमा यात्रुको चाप बढेसँगै अनेकन बहानामा भाडा बढाएको गुनासो यात्रुले गरेका छन् ।

अन्तिम अपडेट: असोज १४, २०७९

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।