ओमिक्रोनका लागि नेपाल-भारत सीमा नाका बन्द गर्नु व्यावहारिक छैनः डा.शेरबहादुर पुन

ओमिक्रोनका लागि नेपाल-भारत सीमा नाका बन्द गर्नु व्यावहारिक छैनः डा.शेरबहादुर पुन

१५ मंसिर, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबारे निगरानी राख्नुपर्ने भए पनि नेपाल-भारत सीमा नाका बन्द गर्नु व्यावहारिक नहुने बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै विशेषज्ञ पुनले भने, “नेपाल र भारतबीच १८ सय किलोमिटर लामो खुला सीमा छ । सबै जना मुख्य नाकाबाट मात्र आउँदैनन् । हामीसँग विगतका लकडाउनमा सीमानाका बन्द गरेको अनुभव छँदै छ । परीक्षण विधिमा सुधार अघि बढाउन स्थानीय सरकार या युवा नै जागरुक हुुनुपर्छ । सीमाबाट गाउँमा कोही आएको थाहा भयो भने १४ दिनको क्वारेन्टिन प्रभावकारी हुन सक्छ । तर नाका नै बन्द गर्नु व्यावहारिक छैन ।”

डा. पुनले भारतसँगको नाकाबाहेक अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सबैखाले परीक्षणको व्यवस्था गर्नुपर्ने बताए । उनले भने, “अहिले अफ्रिकाबाट नेपाल आउन प्रतिबन्ध लगाएको स्थिति छ । तर, संक्रमित अफ्रिकाबाट नै आउँछ भन्ने छैन, तेस्रो देशबाट पनि आउन सक्छ । त्यसैले अन्तर्राष्ट्रिय विमानस्थलमा सबै प्रकारका परीक्षण गर्ने प्रक्रिया मिलाउनुपर्छ । आगन्तुकलाई कतै राखेर निगरानी गर्नुपर्छ । त्यहाँ एकद्वार प्रणाली भएकाले समस्या नहोला ।”

Europass CV in Nepal

म्युटेसन हुँदैमा ओमिक्रोन डेल्टाभन्दा खराब नै हो भन्ने आधार नभएको उनले बताए । उनले थपे, “दक्षिण अफ्रिकामा कोरोनाभाइरसको नयाँ म्युटेन्ट छिटो फैलिएपछि नोभेम्बर २६ मा विश्व स्वास्थ्य संगठनले यसबारे जानकारी दिएको छ । यो अघिल्ला भाइरसका भेरियन्टभन्दा जेनेटिक कोडमा परिवर्तन भएको हो । यसको स्पाइक प्रोटिन अत्यधिक मात्रामा छिटो फैलिने र संक्रामक हुने प्रारम्भिक नतिजा आएकाले विश्व तरंगित भएको छ ।

विभिन्न देशले निगरानी बढाएका छन् । तर नेपालमा यो भित्रिने सम्भावनालाई नकार्न सकिँदैन । नेपालमा बेलायतको अल्फा भेरियन्ट र भारतको डेल्टा भेरियन्ट देखिएका थिए । डेल्टा भेरियन्ट अत्यन्त उग्र भएकाले नेपालगन्ज र काठमाडौं ठूलो मानवीय क्षति भएको हामीले बिर्सेका छैनौं ।”

Europass CV in Nepal