काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारका लागि निकै चर्चा गरिएका ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ चलाईरहेका सुमन सायमीले बालेनलाई सच्चिन चेतावनी दिएका छन्। काठमाडौँमा डोजर आतंक मच्चाएर महानगरको विकास नहुने भन्दै नेवा: अभियन्ता समेत रहेका सुमन सायमीले आफ्नो सोच बदल्न बालेनलाई सुझाव दिएका हुन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँगै चुनावी प्रतिस्पर्धा गर्दा पराजित भएपछी पछिल्लो समय बालेनलाई नै साथ दिएका दिने भन्दै आफुलाई एकै टिमको भनेर प्रचारप्रसार गरिरहेका थिए।
कोर सिटीमा बालेनले डोजर चलाएपछि आन्दोलित केही स्थानीय बासिन्दाको समर्थनमा उत्रिएका सायमीले नेपाल प्रेससँग कुरा गर्दै बालेनबाट गलत काम हुन थालेको भन्दै कानून विपरीतका प्रक्रिया र मैले जे गरे पनि हुन्छ भन्ने सोच बदल्न उनले आग्रह गरे ।
सायमीले भने– मान्छेको ज्यानसँग जोडिएको घरमा हानेर हुन्छ ? तपाईँबाट गलत भएको छ, तपाईँले प्रक्रिया र सोच पनि बदलिनुपर्छ । डोजर आतङ्कले समाधान हुँदैन । भोलि देशैभर यही सिस्टमले अरूले पनि भत्काउन थाले भने के हुन्छ ? यो त बर्बाद हुन्छ ।
सायमीले संविधानको २५ र ३७ ले आवासको हक दिएका भन्दै जनताका घरमा डोजर लगाउने काम नरोकिए काठमाडौंका जनता बाहिर निस्कने चेतावनी दिए । उनले बालेनको राम्रो कामको आफूले प्रशंसा गरेको भन्दै असनबाट सम्पदा संरक्षणका लागि अतिक्रमण हटाएकोमा धन्यवाद दिए ।
सायमी लौरो चिन्ह लिएर काठमाडौं ८ बाट प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा गर्दैछन् । उनले काठमाडौंको मेयरमा आँखी झ्याल चिन्ह लिएर उठ्दा १३ हजारभन्दा बढी मत पाएका थिए । उनले पाएको मत अधिकांश कोर सीटीको थियो । कोर सीटीमै बालेनले डोजर हान्न थालेपछि उनी स्थानीयको पक्षमा उभिएका हुन् ।