नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबराम भट्टराई अब निर्वाचन नलड्ने घोषणा गरेका छन् । गोरखाली मतदातालाई धन्यवाद दिंदै उनले लेखेका छन्, ‘आगामी २०७९ मंसीर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु ।’ यसअघि डा. भट्टराईले आगामी प्रतिनिधि सभा निर्वाचन माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने निर्णय गरेका थिए ।
२०६४ र २०७० को संविधानसभा र २०७४ को प्रतिनिसभा चुनाव जितेका भट्टराईले चुनाव नलडे पनि आफूले राजनीति नछाड्ने बताएका छन् । उनले लेखेका छन्, ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन !’ चुनाव नलडेपछि आफू पार्टीको काम र जनताको सेवामा निरन्तर लागिरहने उनले लेखेका छन् । ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन ! कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न/भन्न सक्छन् । सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन,’ उनले लेखेका छन् ।
प्रस्तुत छ, डा. भट्टराईको अपिलः
प्रिय गोरखा,
२०६४,२०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा,दिदीबहिनी,दाज्यूभाइहरूमा अन्तःहृदयैदेखि आभार ब्यक्त गर्दछु।
आगामी २०७९ मंसीर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहॉहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु।
मेरो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिकालागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका छन् भने केही शुरूभएका आयोजना पूरा हुन बॉकी छन्। बॅकीरहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन म संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहनेछु।
२०६५ देखि अहिलेसम्म प्रत्येक महिना गोरखा आउनेजाने र जनताको घरदैलोमा पुग्ने काम गरिराखें र तपाईंहरूबाट धेरै सिक्ने अवसर पाएँ। आगामी दिनमा पनि म निरन्तर तपाईंहरूकै सेवामा रहिरहनेछु।
चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन । कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न र भन्न सक्छन्। सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन। तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता र समाजको सेवा गर्ने साधन हो।म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु। पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु।
म सबै गोरखाली दिदीबहिनी दाज्युभाइहरूलाई विश्वास दिलाउन चाहन्छु मेरो ठाउॅमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीब्रता पाउनेछ। म त्यहॅा साथमा हुनेछु।
आसन्न वडादशै,तिहार,नेपाल सम्वत् नयॉ वर्ष लगायतका सबै पर्वहरूमा हार्दिक शुभकामना१