मिस इन्डिया रनरअप मान्या सिंहले पाइनन् काम, घर धान्‍न बुबा चलाउँछन् अटो

मिस इन्डिया रनरअप मान्या सिंहले पाइनन् काम, घर धान्‍न बुबा चलाउँछन् अटो

मिस इन्डिया रनरअप मान्या सिंहलाई लाग्थ्यो अब त जिन्दगी फेरिन्छ । नाम र दामका साथै हरेक रहर सजिलै पूरा हुनेछन् । नलागोस् पनि कसरी उनी भारतकी मिस इन्डिया फस्ट रनरअप हुन् । जुन उपाधि पाएपछि अधिकांशले काम पाएका छन् र सफल भएका छन् । उपाधिसँगै पाएको कामको अवसरले उनीहरुको जीवनशैली नै फेरिएको छ ।

तर सन् २०२० मा मिस इन्डियाको फस्ट रनरअप भए पनि मान्याको जिन्दगीमा खास केही परिवर्तन भएन । नाम, दाम कमाउने र आफ्ना हरेक चाहना पूरा हुने सोचेकी मान्याले दुई वर्षसम्म कुनै काम पाउन सकिनन् ।

कामका लागि विभिन्न ठाउँमा भौतारिइन्, तर रनरअप भएको दुई वर्षसम्म उनले कुनै काम पाइनन् । उनले पहिरिएको ताजले कुनै काम गर्न सकेन । उनले दुई वर्षपछि भने बल्ल अहिले काम पाएकी छन् ।

मान्याले आफ्नो रंगलाई लिएर सर्वसाधारणले टिप्पणी गर्ने गरेको गुनासो गरिन् । मान्या मिस इन्डिया बने पनि उनका बुवा घर–व्यवहारका लागि अटो चलाइरहेका छन् । दुई वर्षसम्म काम पाउन नसेकी उनी कहीं जानु परे बुवाकै अटो प्रयोग गर्छिन् । यो उनले रहरले नभई बाध्यताले गरेकी हुन् । बुवाको अटो प्रयोग गर्दा पैसाको बचत हुन्छ ।

मिस इन्डिया रनरअप भएपछि बुवाले अटो चलाउनु पर्दैन । आमाले लोकल ट्रेनमा धक्कामुक्का गर्दै यात्रा गर्नु पर्दैन होला भन्ने उनले सोचेकी थिइन् । तर न उनका सपना पूरा भए न आमाबाले सुख नै पाउन सके । र, आजपर्यन्त मान्याका बुवा अटो चलाइरहेका छन् भने आमा लोकल ट्रेनमा उही धक्कामुक्का सहँदै यात्रा गरिहेकी छन् ।

टीभी रियालिटी शो बिग बोसका प्रस्तोता एवं अभिनेता सलमान खानलाई आफ्नो र परिवारको संघर्ष सुनाउँदा मान्या भावुक बनिन् । मिस इन्डियाको रनरअप भएपछि उनी अडिसन दिन हरेक बिहान वर्सोवा पुग्थिन् । तर उनको प्रयास कहिल्यै सफल भएन । एक दिन कसो सफल नभइएला र भन्दै उनी निरन्तर आफ्नो कर्ममा लागिरहिन् ।

मान्या अहिले बिगबोसमा आएकी छन् । उनी यो शोबाट पैसा कमाएर बुबाआमालाई सुखमा राख्न चाहन्छिन् । मान्याको कुरा सुनेपछि सलमानले उनका हरेक इच्छा पूरा हुने बताए ।

मान्या उत्तर प्रदेशकी हुन् । आफ्नो वास्तविक जिन्दगी कस्तो छ भनेर देखाउन बिग बोसमा आएको उनी बताउँछिन् । जिन्दगीका कठिन घडीबाट अगाडि बढ्दै आएकी मान्याले बिग बोसमा कस्तो काम गर्छिन् त्यो हेर्न भने बाँकी छ । मान्याले बिग बोसमा आफ्नो ग्ल्यामरको जादू छर्ने विश्वास गरिएको छ ।