अन्य ठाउँमा अविरल वर्षा, हिमाली जिल्ला मनाङमा असोजमै हिउँ पर्यो

अन्य ठाउँमा अविरल वर्षा, हिमाली जिल्ला मनाङमा असोजमै हिउँ पर्यो

लमजुङ । हिमाली जिल्ला मनाङमा असोजमै हिमपात भएको छ । केही दिनको अविरल वर्षासँगै हिमाली जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको स्थानीयले बताएका छन् ।मनाङ गाउँस्थित तिलिचो होटलका सञ्चालक ६१ वर्षीय कर्म गुरुङले यसअघि असोज पहिलो साता नै हिउँ परेको थाहा नपाएको बताए ।

‘हिउँ २ इन्च जति जमेको छ । हामी पनि बाहिर निस्केका छैनौं । पर्यटकलाई पनि बाहिर ननिस्कन आग्रह गरेका छौं‚’ उनले भने । उनका अनुसार वेदर फोरकास्टले शनिबारसम्म हिउँ देखाएको छ । उनका अनुसार यसअघि २०७१ मा असोज तेस्रो साता हिमआँधी (हुदहुद) आएका कारण धनजनमा क्षति पुर्‍याएको थियो ।

मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले बुधबार रातिदेखि मनाङमा हिमपात भएको बताए । ‘बिहान त हिउँमात्रै परेको थियो । अहिले हिउँ र पानी दुवै परिहेको छ‚’ उनले भने । उनका अनुसार हुम्डेदेखि माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छ; चिसो बढेको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका लेखापाल उमाकान्त सापकोटाका अनुसार हिउँ परेपछि पर्यटक रोकिएका छन् । मनाङ गाउँमा मात्रै ६० जनाको हाराहारीमा विदेशी पर्यटक रहेको उनले बताए । उनका अनुसार थोराङ्ला पास (५,४१६ मि.) तर्फ याकखर्क, लेदर, थोराङ्ला फेदी (बेसक्याम्प), हाइक्याम्पलगायत ठाउँमा डेढ सय पर्यटक रहेको अनुमान छ । तिलिचो ताल (४,९१९ मि.) तर्फ खाङसार, श्रीखर्क, तिलिचो बेसक्याम्पलगायतमा पनि पर्यटक रहेको अनुमान छ । ‘पर्यटकलाई जहााको होटलमा बसेको हो, त्यहीं बस्न र यात्रा अघि नबढाउन भनेका छौं‚’ उनले भने । उनका अनुसार सन् २०१४ अक्टोबर तेस्रो साता हिमआँधी आएर पर्यटकको मृत्यु भएको थियो ।

मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले नार्पाभूमि गाउँपालिकाको मेता (३,५६० मि.) देखि माथिल्लो क्षेत्र र मनाङ ङिस्याङ गाउापालिकाको हुम्डे (३,३०० मि.) देखि माथिल्लो क्षेत्रमा हिमपात भइरहेको छ । सदरमुकाम चामेदेखिको देखिन डाँडाकाँडामा पनि हिमपात भएको छ । उनले एक सूचना जारी गरी हिमपात र बाढीपहिरोबाट जोगिन आग्रह गरेका छन् ।

उनका अनुसार केही दिनदेखि लगातार भइरहेको मनसुनी प्रभावका कारण मनाङमा समेत भारी वर्षा भइरहेको साथै नार्पाभूमि र मनाङ ङिस्याङ गाउँपालिकालगायत उच्च भूभागमा हिमपात भइरहेको छ ।

मनाङ पर्यटकीय जिल्ला भएको र हाल पर्यटकीय सिजन समेत भएकाले स्वदेशी तथा विदेशी पर्यटक, पदयात्री तथा स्थानीय बासिन्दालाई हिउँ तथा वर्षात्‌को ख्याल तथा पूर्वजानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरिएको उनले बताए । उनका अनुसार नदी तटमा रहेका बस्तीका बासिन्दाहरूले पूर्वसावधानी एवं सतर्कता अपनाउन र कोही पर्यटक अलपत्र परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय तथा चेक पोस्टमा खबर गर्न अनुरोध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मनाङले प्रहरी कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र चेकपोस्ट साथै गाउँपालिकाहरूले आ-आफ्नो क्षेत्रभित्र आवश्यक सहयोग, समन्वय एवं सूचना प्रदान गरी विपद् जोखिमलाई ध्यान दिई मानवीय एवं भौतिक क्षति हुन नदिन पूर्वसतर्कता अपनाउन अनुरोध गरेको छ । वर्षात् रोकिनासाथ बाटोघाटो ठीक दुरुस्त सुचारु गराउन जनशक्तिसहित उपकरण तयारी अवस्थामा राख्न सरोकारवाला सबैमा मनाङ प्रशासनले अनुरोध गरेको छ ।

अविरल वर्षाका कारण बेंसीसहर-चामे सडकको खोत्रो, धारापानी, कोत्रो र तिमाङ क्षेत्रमा बाढीपहिरोले सडक बगाउनुका साथै सडकमा पहिरो खसेपछि बुधबारदेखि यातायात सेवा अवरुद्ध छ ।