मुख्य सामग्रीमा जानुहोस्
Friday, 9 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

राप्ती नदीमा बाढी – तटीय क्षेत्रका तीन सयभन्दा बढी घर डुबानमा

Himali Patrika 1 मिनेट पढाइ

अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका तीन सयभन्दा बढी घर डुबानमा परेका छन्। अविरल वर्षापछि राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका वार्ड नम्बर १ अन्तर्गत पर्ने चौफेरी, कृषि चौफेरी र पाझा गाउँका तीन सयभन्दा बढी घर डुबानमा परेका छन्।

बाढी घरभित्र पसेपछि अन्नपात कपडा लत्ता भिजेर क्षति भएको स्थानीय गणेश गुप्ताले बताए। राप्ती नदी र खोलाको बीचमा रहेका ती गाउँका स्थानीयहरू त्रसित भएका छन्। घरभित्र पानी पसेपछि यहाँका स्थानीय गाउँपालिकाले निर्माण गरेको आश्रयस्थलमा आश्रय लिएर बसेका छन्।

अत्यावश्यक सामग्री लिएर स्थानीयहरू आश्रयस्थलमा बसिरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए। अहिले पनि वर्षा भइरहेकाले नदीमा पानीको सतह बढ्दै गएको छ।

बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतहले ६.६३ मिटर पार गरेको छ। राप्तीनदीमा पानीको सतह ५.४० मिटर पुगेपछि खतरा मानिन्छ। अहिले पनि निरन्तर वर्षा भइरहेकाले खतराको तह बढ्नसक्ने जिल्ला आतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए।

राप्तीनदीमा बाढी आएपछि तल्लो तटीय क्षेत्रका फत्तेपुर, गंगापुर, होलिया, बेतहनी, कम्दीगाउँलगायत स्थानमा बाढी आउँछ। जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सूचनामार्फत् आग्रह गरेको छ। बाढी र डुबान सुरू भएपछि त्यस आसपास क्षेत्रका सर्वसाधारण अहिले त्रसित छन्।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।