उपेन्द्रको चलाखी : एमालेसँग २५ सिट लिएर जोडे नयाँ गठबन्धन

उपेन्द्रको चलाखी : एमालेसँग २५ सिट लिएर जोडे नयाँ गठबन्धन

पाँच दलीय सत्ता गठबन्धनबाट विच्किएको जसपाले बालकोटसँग २५ सिटमा सहमति गरेको छ। आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट भागबण्डामा कुरा नमिलेपछि जसपा गठबन्धनबाट बाहिरिएको हो।

जसपा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग मधेशमा १६ सहित देशभर २५ सिटमा उम्मेदवार उठाउने गरी एमालेसँग सहमति गरेको छ। जसपा अध्यक्ष उपेन्द्र यादव बिहीबार बेलुका एमाले अध्यक्ष केपी ओलीसँग भेट गर्न बालकोट पुगेका थिए। उपेन्द्र र एमाले अध्यक्ष केपी शर्मा ओली बीच छलफलको बातावरण भने जसपाका संघीय परिषद अध्यक्ष अशोक राईले मिलाएका हुन्।

सहमतिअनुसार आज दुई पार्टीबीच सहमतिपत्रमा हस्ताक्षर हुने जनाईएको छ। को तयारी भएको छ। सहमति अनुसार धनुषा २, बारा २ र ३ बाँके २ र रुपन्देही ४ लगायत केही क्षेत्रमा भने दुई पार्टीबीमा मित्रवत् प्रतिस्पर्धा हुनेछ।

एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग भने बार्तालाई अन्तिम रुप दिएको छैन। एमालेसँग वार्ता गर्न लोसपाले टोली नै बनाएको थियो । तर एमाले नेताहरु भने लोसपासँग सहमतिको प्रयास अघि बढ्न नसकेको बताउँछन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड उपेन्द्र यादवलाई फकाउन दसैं नभनी खटिरहेकै छन्। टीकाका दिनसमेत बालुवाटारमा जसपा नेतालाई बोलाएर फकाउने प्रयास गरिएको थियो। तर, जसपाले भने एमालेसँग समेत तालमेलका लागि सम्वाद अगाडि बढाइसकेको अवस्था छ।

जसपाका एक नेताले भने, ‘हामीले गठबन्धनमा सम्मानजनकरुपमा सिट बाँडफाँट गरियोस् भनेका हौं तर उहाँहरु ११ सिट दिने कुरा गरिरहनुभएको छ,’ यही भएर हामीले एमाले र लोसपासँग पनि तालमेलको ढोका खुल्ला गरेका हौं।’

उपेन्द्रको चलाखी
०७४ को चुनावपछि मधेस प्रदेशमा मधेस केन्द्रित दलहरुको सहकार्यमा सरकार बनेको थियो। अरु प्रदेशमा जस्तो त्यहाँ मुख्यमन्त्रीको फेरबदल भएन र सरकारले स्थायित्व पायो। तर, अहिले लोसपा र जसपा फुटेको अवस्था छ।

अहिलेको स्थितिमा मधेस प्रदेशबाट कांग्रेस, एमाले र माओवादीले चुनावी फाइदा लिन खोजेका छन् भने उपेन्द्र यादवचाहिँ मधेसमा आफ्नो पार्टीको बर्चस्व कायमै राख्ने रणनीतिमा छन्। यसका लागि एमालेसँग मिल्दा बढी लाभ हुने विश्लेषण जसपा नेताहरुको छ।

त्यसो त दसैंको टीकाको दिन नेपाली कांग्रेसका नेताहरुले बालुवाटारमा जसपा र एकीकृत समाजवादीका नेताहरुसँग बेग्लाबेग्लै बसेर सहमति जुटाउने प्रयास गरेका थिए। तर, त्यो प्रयास सफmल नभएपछि उपेन्द्र यादव कार्यदलका सदस्यहरुलाई समेत लिएर बिहीबार साँझ बालकोट पुगेका हुन्।

चतुर राजनीतिज्ञको छवि बनाएका उपेन्द्र यादवले कांग्रेस–माओवादी वा एमाले जोसित मिल्दा बढी सिट जितिन्छ, उसैसँग चुनावी तालमेल गर्ने नीति लिएका छन्। सो पार्टीका नेताहरुका अनुसार जसपाको लाइन स्पष्ट छ, ‘मधेस प्रदेशमा बहुमत आउने गरी सिट बाँडफाँड हुनुपर्यो, प्रतिनिधिसभामा विगतको भन्दा बढी सिट पाउनुपर्यो।’

यही क्रममा कांग्रेस एमालेले ११ सिटमात्र दिन खोजेको भन्दै जसपाले करिब २२ सिटमा एमालेसँग तालमेल गर्न लागेको हो।

लोसपालाई पनि ढोका खुल्ला
बाहिरबाट हेर्दा भर्खरै फुटेका लोसपा र जसपा आपसमा मिल्नै सक्दैनन् जस्तो देखिएको छ। जसपाले कांग्रेससँग गठबन्धन बनाइरहँदा लोसपाका नेताहरु एमालेसँग आन्तरिक छलफलमा थिए। अब जसपा र एमाले मिलेपछि लोसपाले के गर्ला भन्ने प्रश्न उब्जेको छ।

तर, जसपाका एक नेताले नेपालखबरलाई दिएको जानकारी अनुसार यो चुनावमा लोसपा र जसपाका बीचमा समेत चुनावी तालमेलको सम्भावना छ। यसकै लागि जसपाले औपचारिक निर्णय नै गरेर पाँच दलीय गठबन्धन बाहिरसमेत तालमेल गर्ने ढोका खोलेको ती नेताको भनाइ छ।

जसपाका ती नेता भन्छन्, ‘हामीले पाँचदलीय गठबन्धनभन्दा बाहिर पनि चुनावी तालमेल गर्न सकिने निर्णय गरिसकेका छौं, यो भनेको एमाले र लोसपा दुबैसँग तालमेल गर्न सकिन्छ भन्ने हो।’

पाँच दलीय गठबन्धनभन्दा बाहिरसमेत तालमेल गर्न सकिने जसपाको निर्णयले एमाले नेताहरुमा खुशियाली छाएको छ। यही कारण एमाले नेताहरु जसपालाई आफूतिर तान्न उत्साहित देखिएका छन्। यो परिस्थितमा अब मधेसमा एमाले, लोसपा र जसपावीच त्रिपक्षीय गठबन्धनको सम्भावना बढेको स्वयं जसपा नेताहरुको स्वीकारोक्ति छ।

ठूला दललाई उपयोग गरेर शक्ति आर्जन गर्नमा उपेन्द्र यादव माहिर मानिन्छन्। विगतमा उनले कांग्रेस, माओवादी र एमाले सबैसँग सहकार्य गरिसकेका छन्। यसपटक पनि यादवले पाँच दलीय गठबन्धनबाट अलग्एिर वा सत्ता गठबन्धनमै रहेर एमालेसँग तालमेल गरे भने अचम्म नमान्दा हुने नेताहरु बताउँछन्। उता एमालेका एक नेताले नेपालखबरसँग भने, ‘अध्यक्ष ओली गोलपोस्टमा गोल हान्ने खेलाडी हो । हेर्दै जानुहोला जसपापछि अन्य दुईवटा दलसँग पनि एमालेको गठबन्धन बन्नेछ।’