शान्ता चौधरीले टिकट पाउने पक्का भएपछि गंगाले रोजिन स्वतन्त्रको बाटो, अब `ब्याक´ नहुने

शान्ता चौधरीले टिकट पाउने पक्का भएपछि गंगाले रोजिन स्वतन्त्रको बाटो, अब `ब्याक´ नहुने

काठमाडौँ । नेकपा एमालेकी नेतृ गंगा चौधरी (सत्गौवा)ले स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् ।एमालेबाट पूर्वसांसद्समेत रहेकी चौधरीले दाङ-१ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

स्राेतका अनुसार टिकट नपाउने संकेत बुझेपछि उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी हुन् । दाङ-१ बाट उनीसँगै एमाले संसदीय दलकी निवर्तमान सचेतक शान्ता चौधरी सिफारिस भएकी छिन् । शान्ताले टिकट पाउने लगभग तय भएपछि उनले बिद्रोह गरेकी हुन्।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘आज मैले ठीक निणर्य गरे वा बेठिक मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताको लागि म सधै लागि रहनेछु । जनता भगवान हुन्, जनता नै सर्वपरी हुन् । देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उम्मेदवार भएर जनताको बिचमा आउँदैछु, हजुरहरुको साथ चाहिएको छ ।’

निवर्तमान सांसद समेत रहेकी थारूले क्षेत्र नम्बर १ मै स्वतन्त्र उम्मेदवारी दिने बताएकी छन् । ‘मेरो निर्वाचन क्षेत्रबाट म भन्दा क्यापेबल अर्को उम्मेदवार छैन । अझ बाहिरबाट ल्याएर उम्मेदवार बनाएपछि मैले स्वतन्त्र उम्मेदवारी दिने निर्णय लिएकी हुँ’, चौधरीले भनिन् ।

आफूले एमालेको सदस्यताबाट राजीनामा भने दिइनसकेको उनले बताइन् । ‘मैले पार्टीबाट औपचारिक राजीनामा दिएको छैन । राजीनामा नदिएसम्म पार्टी छाडेको भन्न मिलेन’ उनले भनिन् । पार्टीले निर्णय सच्चाएर तपाईंलाई नै उम्मेदवार बनाएकाे खण्डमा पुन: पार्टीबाटै निर्वाचन लड्ने सम्भावना रहन्छ कि रहँदैन भन्ने जिज्ञासामा नेतृ थारूले ब्याक नहुने बताइन् । `मैले निर्णय लिईसकेँ, गङ्गाले जे बाेल्छे, त्यही गर्छे, अब म स्वतन्त्र उम्मेदवार नै हाे, निश्चिन्त हुन जनतालाई निवेदन गर्दछु ।´