घनश्याम भुसालले टिकट नपाउने पक्का, उनको ठाउँमा विक्रम पाण्डेलाई दिइयो टिकट

घनश्याम भुसालले टिकट नपाउने पक्का, उनको ठाउँमा विक्रम पाण्डेलाई दिइयो टिकट

एमाले नेता घनश्याम भुसालले प्रतिनिधि सभा उम्मेदवारको टिकट नपाउने भएका छन्। यसअघि उनले टिकट पाउने कि नपाउने टुंगो नभएकामा अब भने नपाउने पक्का भएको स्रोतले बताएको छ।

एमालेनिकट स्रोतका अनुसार भुसालको निर्वाचन क्षेत्र रूपन्देही ३ मा राप्रपाका विक्रम पाण्डेले टिकट पाएका छन्। यो क्षेत्रमा एमालेले राप्रपालाई सघाउनेछ। २०७४ सालको निर्वाचनमा पाण्डेलाई भुसालले हराएका थिए। पाण्डे कांग्रेसको समर्थनमा राप्रपाका उम्मेदवार थिए भने भुसाल वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार थिए।

एमालेको नवौं महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित भएका भुसाल दसौं महाधिवेशनमा उपाध्यक्षमा पराजित भएका थिए। आफूले सार्वजनिक गरेको सूचीलाई चुनौती दिएको भन्दै एमाले अध्यक्ष केपी ओली भुसालप्रति अनुदार बन्दै आएका छन्।

ओलीले आफ्ना विरूद्धमा अध्यक्ष उठेका भीम रावल, भुसाल लगायतलाई भोट नहाल्न उर्दी नै जारी गरेका थिए। एमालेभित्र वैचारिक नेता भनेर चिनिने भुसालको टिकट राजतन्त्र पक्षधर पार्टी राप्रपाका पाण्डेको हात लागेको छ।

अर्का नेता सुरेन्द्र पाण्डेले भने अहिलेसम्म टिकट पाउने कि नपाउने भन्नेबारे टुंगो लागेको छैन। चितवनमा एमाले नेता कृष्णभक्त पोखरेलले प्रतिनिधि सभा उम्मेदवारको टिकट पाउँदा पाण्डेको भने टुंगो नलागेको हो।

पोखरेलले चितवन क्षेत्र नम्बर २ बाट टिकट पाएका छन्। पाण्डेको भने चितवन क्षेत्र नम्बर १ हो। उनी २०७० र २०७४ सालमा सोही क्षेत्रबाट विजयी भएका थिए। स्रोतका अनुसार चितवन क्षेत्र नम्बर १ मा एमाले अध्यक्ष केपी ओलीले जे एन थपलियालाई टिकट दिन चाहेका छन्।

एमालेभित्र अन्तरसंघर्ष हुदा पाण्डे माधव नेपालनिकट थिए। माधव नेपालले एमाले विभाजन गरेर नयाँ पार्टी गठन गर्ने बेलामा मात्र पाण्डेले ओलीलाई साथ दिएका हुन्। नेकपाकालीन अवस्थामा समेत पाण्डे ओलीका आलोचक थिए।

माधव नेपाललाई साथ नदिइकन एमालेमा रहेपछि भने पाण्डेले ओलीका हरेक कदमको बचाउ गर्दै आएका छन्। पछिल्लो समय पाण्डेले सार्वजनिक रूपमै ओलीको प्रशंसा गर्न थालेका थिए। दसौं महाधिवेशनमा समेत ओलीले पाण्डेलाई उपाध्यक्ष बनाएका थिए।

यता योगेश भट्टराईले ताप्लेजुङमा प्रतिनिधि सभा उम्मेदवारको टिकट पाइसकेका छन्। शुक्रबार सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै उनले आफूले ताप्लेजुङबाट टिकट पाएको पुष्टि गरे।

‘मैले ताप्लेजुङमा दोहोर्‍याउने भएँ,’ भट्टराईले सेतोपाटीसँग भने। ताप्लेजुङ भट्टराईको गृहजिल्ला समेत हो। उनले ताप्लेजुङबाटै २०७४ सालमा वाम गठबन्धनका तर्फबाट चुनाव जितेका थिए। एमालेका पूर्व उपाध्यक्ष भीम रावलले भने प्रतिनिधि सभा उम्मेदवारको टिकट नपाउने भएका छन्। उनी अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएका थिए।

सो क्षेत्रमा माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोराले टिकट पाउने भएका छन्। अछाम-१ बाट बोहोरा र अछाम-२ बाट यज्ञ बोगटीले उम्मेदवारी दिने तय भएको एमालेका एक नेताले बताए। २०५१ सालदेखि २०७४ सम्म चार निर्वाचन लडेका रावल यसपटक भने उम्मेदवार बन्नबाट बञ्चित भएका छन् उनले २०५६ सालमा मात्र निर्वाचन हारेका थिए। २०६४ सालमा भने उनी समानुपातिक तर्फको सांसद बनेका थिए।