नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा- २ बाट उम्मेदवार बन्ने भएका छन्। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रचण्डले गोरखा- २ बाट निर्वाचन लड्ने निर्णय गरेको एक पदाधिकारीले सेतोपाटीलाई बताए। उनी यसअघि चितवन- ३ बाट निर्वाचित भएका थिए।
अहिलेसम्म तीनवटा संसदीय निर्वाचन लडेका प्रचण्डले प्रत्येकपटक क्षेत्र फेरेका छन्। काठमाडौं- १० बाट दोहोर्याएर लड्दा उनी पराजित भएका थिए। २०६४ मा रोल्पा- २ र काठमाडौं- १० बाट निर्वाचन जितेका प्रचण्डले २०७० को निर्वाचनमा काठमाडौं- १० बाट हारेका थिए भने सिरहा- ५ बाट झिनो अन्तरले जितेका थिए।
२०७४ मा चितवन- ३ बाट निर्वाचित प्रचण्डले यसपटक गोरखा रोजेसँगै उनी चार चुनावमा चार क्षेत्रबाट निर्वाचन लड्ने नेता हुनेछन्। गोरखाका माओवादी नेता-कार्यकर्ता र जनप्रतिनिधिले प्रचण्डलाई भेटेर चितवनभन्दा गोरखा धेरै सुरक्षित रहेको र जित्नलाई धेरै मेहनत पनि गर्न नपर्ने हुँदा देशभर समय दिन पाइने तर्क गरेका थिए।
आफूलाई भेट्न आएका चितवनका कांग्रेस र माओवादी नेता-कार्यकर्तासँग कुरा गर्दै प्रचण्डले आफूले जस्तो निर्णय पनि लिन सक्ने जवाफ दिएका थिए। चितवनदेखि आफूलाई भेट्न आएका गठबन्धनका नेता-कार्यकर्तालाई प्रचण्डले प्रत्येक निर्वाचनमा फरकफरक क्षेत्रबाट लडेकाले यसपटक अन्त जान पनि सक्ने भनेका थिए।
‘हरेकपटक निर्वाचन क्षेत्र फेर्न सक्ने भएर नै प्रचण्ड भएको हो,’ उनको भनाइ उद्धृत गर्दै एक माओवादी नेताले भनेका थिए। पढ्नुहोस् यो पनिः प्रचण्ड भन्छन्- हरेकपटक निर्वाचन क्षेत्र फेर्न सक्ने भएर नै प्रचण्ड भएको हो।
चितवनमा प्रचण्डलाई कांग्रेसकै भर, नभए संकट
दुईपटक प्रधानमन्त्री भइसकेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पछिल्लो समयको निर्वाचन क्षेत्र चितवनको क्षेत्र नम्बर–३ हो । यो निर्वाचिन क्षेत्रमा भरतपुर महानगरपालिकाका १९ वडा र माडी नगरपालिका पर्छन् । स्थानीय तह निर्वाचनको परिणाम हेर्ने हो भने यो निर्वाचन क्षेत्रमा माओवादी केन्द्र निकै कमजोर देखिन्छ ।
गठबन्धन गरेर भरतपुमा महानगरपालिकाको प्रमुख माओवादीले जितेको थियो भने माडी नगरपालिका पराजित भएको थियो । भरतपुरमा माओवादी केन्द्रकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहालले निर्वाचत जितेकी थिइन् । उनले यसअघि गरेका कामकै कारण निर्वाचन जित्न सहज भएको कतिपयको बुझाइ छ । तर धेरैजसोले गठबन्धनका कारण नै सहज भएको टिप्पणी पनि गर्छन् ।
चितवन–३ मा वडागत रुपमा सबैभन्दा धेरै एमालेसँग २९ हजार ७५३ मत रहेको छ । सबै वडामा उमेदवारी नदिएको कांग्रेसले २९ हजार ३ सय ५३ मत ल्याएर एमालेलाई टक्कर दिएको छ । माओवादीले भने १० हजार ९५८ मत पाएको छ । एकीकृत समाजवादीसँग ५ हजार ७३७ मत छ ।
यसरी हेर्दा हालको सत्ता गठबन्धन बलियो त देखिन्छ तर कांग्रेसले अन्तरघात गरेमा भने प्रचण्डलाई जोखिम देखिन्छ । सत्ता गठबन्धनमा रहेको दल एकीकृत समाजवादीसहितको मत हेर्दा भने गठबन्धनको मत दायाँबायाँ नभए प्रचण्डलाई सहज देखिन्छ । तर, वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले र राप्रपाबीच तालमेल भएको थियो ।
यो निर्वाचनमा पनि एमाले र राप्रपाबीच तालमेलको तयारी छ । केन्द्रबाटै तालमेलको तयारी गरिएको दुवै पार्टीका नेताहरु बताउँछन् । राप्रपाले स्थानीय तहमा वडागत रुपमा ६ हजार ९९८ मत ल्याएको छ । स्वतन्त्रसहित साना दलहरूसँग २ हजार ५०५ मत रहेको छ । गठबन्धनमा रहेका दलहरु जसपा र राष्ट्रिय जनमोर्चासँग जम्मा १२२ मत रहेको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ ।
एमालेले राप्रपा र स्वतन्त्रसहित साना दलको मत थप्न सक्यो भने उसँग ३९ हजार २५९ मत पुग्नेछ । जबकि प्रचण्डलाई कांग्रेस, एकीकृत समाजवादी, जसपा र जनमोर्चासहितको गठबन्धनले सहयोग गरे ४६ हजार १७० मत पुग्ने देखिन्छ । गठबन्धनको मत एमालेको भन्दा ६ हजार ९११ मात्रै बढी हो ।
त्यसमा यसपल्ट कांग्रेसले अन्तरघात गर्ने, स्वतन्त्र उमेदवारले मत काट्दा प्रचण्डलाई सहज देखिँदैन । २०७४ मा भएको निर्वाचनमा प्रचण्ड वाम गठबन्धनको सहयोगमा यहीँबाट चुनाव लडेका थिए । उनले ४८ हजार २७६ मत ल्याएका थिए । कांग्रेसले राप्रपाका विक्रम पाण्डेलाई सघाउँदा ३८ हजार ९३५ मत आएको थियो ।