एमालेबाट काठमाडौं ६ मा सर्वेन्द्र खनालले पाए टिकट

एमालेबाट  काठमाडौं ६ मा सर्वेन्द्र खनालले पाए टिकट

२१ असोज, काठमाडौं । नेकपा एमालेबाट काठमाडौं क्षेत्र नं. ६ मा सर्वेन्द्र खनालले टिकट पाएका छन् । नेपाल प्रहरीका पूर्वआईजीपी खनाल ६ असोज २०७९ मा एमाले प्रवेश गरेका थिए । खनाल जनता समाजवादी पार्टी (जसपा) का सांसद डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याएको घटनामा मुछिएका थिए ।

२०७७ सालमा कोरोना महामारी रोकथामका लागि लकडाउन गरिएका बेला खनाल, एमाले नेता महेश बस्नेत र तत्कालीन एमाले नेता किसान श्रेष्ठले धनुषा पुगेर जनता समाजवादी पार्टीका नेता डा. सुरेन्द्र यादवलाई काठमाडौं ल्याएका थिए । त्यतिबेला जसपाले आफ्नो सांसदलाई अपहरण गरेको आरोप लगाएको थियो । काठमाडौं ६ मा नेपाली कांग्रेसले चाहिं भीमसेनदास प्रधानलाई टिकट दिने तयारी छ ।

योगेश भट्टराईको सिट पक्का

ओलीको कार्यशैलीको विरोध गरेबापत भीम रावलले टिकट नपाउँदा त्यही समूहमा रहेका योगेश भट्टराईले भने ताप्लेजुङबाट चुनाव लड्ने पक्का भएको छ । भट्टराईले उम्मेदवारी दर्ताको लागि उपस्थित हुन जिल्ला कमिटीका सदस्यहरु तथा कार्यकर्तालाई निर्देशन पनि दिनुभएको छ । तत्कालीन नेकपाभित्र विवाद भएपछि ओलीबाहेकको पक्षमा लगेका नेताहरूलाई टिकट दिन अध्यक्ष ओलीले निकै अप्ठेराे मानिरहेको नेताहरूले बताएका छन् ।