नेकपा एमाले नेता घनश्याम भुसालले पार्टीभित्रै अपमानित हुने अवस्था पार्टी छाडेको बताएका छन् । शनिवार आफ्नो गृहनगर रूपन्देहीको तिलोत्तमा मणिग्राममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै भुसालले पार्टीभित्र विधि, नीति र सिद्धान्तको कुरा गर्दा अपमानित र कैदीजस्तो भएपछि एमाले परित्याग गरेको बताएका छन् । उनले आफ्नो अबको यात्रा लोकतन्त्र रक्षा र वाम आन्दोलनको एकता एवं यसको सुदृढीकरणका लागि हुने बताए । उनले आफू चुनाव लड्ने विषयमा अझै निचोडमा पुगिनसकेको बताए ।
पत्रकार सम्मेलनमा घनश्याम भुसालले व्यक्त गरेका विचारको सार संक्षेप
कमरेड ओलीसँग मेरो विचार, सिद्धान्त, संगठनात्मक सिद्धान्त, विकास, त्यसको भाष्य, हाम्रो मुलुक, राजनीति यी तमाम चिजमा मेरो डिफरेन्सेसहरू थिए । यो सबैलाई थाहा छ । त्यसलाई उहाँले व्यक्तिगत इस्र्या, द्वेषको रूपमा लिइदिनुभयो । र मैले चाहिँ अन्तिमसम्म पनि प्रयत्न गरे । त्यहाँभित्र थोरै पनि आफूले भन्ने, राख्ने, छलफल हुनेसम्म हुनेभयो भने मैले यस्तो निर्णय गर्न पर्दैनथ्यो ।
म आफैँ क्रान्तिको सिद्धान्तको व्याख्या गर्दा समेत हिजो जनयुद्धदेखि लिएर संसारका क्रान्तिहरूमा व्याख्या गर्दाखेरीमा मैले चाहिँ क्रान्ति, शान्तिपूर्ण रूपमा हुन्छ र शान्तिपूर्ण क्रान्तिका लागि थोरै पनि स्पेश रहेसम्म शान्तिपूर्ण नै गनुपर्छ भन्ने सिद्धान्तको व्याख्या गर्दै बसेको हुँ । त्यसअर्थमा पनि म साच्चिकै प्रतिबद्ध हुँ । आन्तरिक रूपले पनि थोरै पनि स्पेश भएसम्म पनि म यस्तो निर्णय गर्दिन थिएँ ।
किनभने, म यदि मेराप्रति इमान्दार छु भने, म के भन्न सक्छु भन्दाखेरी आजसम्म मैले मेरो लागि भनेर, मेरा परिवारका लागि भनेर, मैले कुनै, कहिल्यै कुनै निर्णय गरेको छैन । आजसम्म मेरो जीन्दगीमा त्यो चाहिँ मैले सानसँग भन्न सक्छु । दाबाका साथ भन्न सक्छु । त्यसको अर्थ मेरा तर्फबाट बुद्धि, बर्कत, क्षमता जे थियो त्यस हिसाबले आन्दोलनमा समपर्ण गरेको हुँ । र त्यसको अर्थ के हो भन्दा मैले व्यक्तिगत कुरा खोजेको होइन, मैले त पार्टीलाई विधिमा, नीतिमा, सिद्धान्तमा, पद्धतिमा, मूल्यमा, चलाउँन खोजेको हुँ ।
तर, त्यसको कुनै सम्भावना मैले देखिन बरु त्यसो गरेबापत, विचारको कुरा गरेबापत, म जहिलेसुकै अपमानित हुनुप¥यो । त्यसलाई पनि मैले यो व्यक्तिगत कुरा हो, क्रान्तिमा यस्तो हुन्छ भन्दै हेर्दै रहेँ । अब गर्दा–गर्दै मैले भन्ने आफूले राख्ने विचार, बहस, छलफल गर्ने थोरै पनि मैले फेरि क्याटोगरीकल्ली भन्दै छु यसलाई म यो शब्द अतिरञ्जनापूर्ण भन्दैछैन मैले थोरै पनि स्पेश नपाएपछि त्यहाँ म हुने भनेको कैदमा रहनेजस्तो भयो । यो कैदलाई अस्वीकार गरेको हुँ ।
दश बुँदेहरूले घुँडा टेक्नुपर्छ भन्नेजस्तो अराजनीतिक, असैद्धान्तिक मूल्य, प्रचार गराएर मान्छेको हुर्मत लिएर जे गर्न खोजिँदैछ, हामी स्वतन्त्रताका लागि लडेर आएका हौँ । जिन्दगीभर त्यसैका लागि लडियो । त्यसो गर्दा चाहिँ यो कुरा गलत हो । मैले प्रतिनिधि सभाका लागि चुनाव सजिलो हुन्छ भनेर यो गर्दैछु भन्ने कुरालाई म एक सय प्रतिशत अस्वीकार गर्दछु ।
म अस्ति पनि एमाले फर्केको होइन । एमालेमै थिए । हाम्रो पार्टी एमाले नै थियो । के मात्रै थियो भने, त्यो नेकपा एमालेमा हामीलाई बाहिर निकालेर घेराबन्दी गरिएको थियो । हाम्रो झगडा हामीभित्र गर्न पाउनुपर्छ । यो घरका हामी सबै बराबर उत्तिकै अंसियार हौँ । मेरो दाबी त के हो भने, अहिले त कमरेड ओली र म उत्तिकै अंसियार हौँ । त्यसमा को पदमा छ, त्यसको व्यवस्थापन कसले गर्छ, त्यति मात्रै फरक हो । तर, मानवीय मूल्य नै फरक हुने नि पार्टी हुन्छ ? २१औँ शताब्दीको पार्टी हुन्छ ? हुँदैनथ्यो । त्यसअर्थमा त्यो मेरो प्रतिक्रिया हो ।
पार्टी कमरेड ओलीले अपहरित गर्नुभयो म ओलीजीसँग सँगै रहन सकिनँ । यस अर्थमा म यो पार्टीमा रहिनँ, भन्ने मेरो घोषणा हो । अबको राजनीतिक यात्रा, हिजो पनि यसमा म अलिकति आलोचित पनि भएको छु । मूल्यांकनको विषय पनि होला । खासगरी आफ्नै प्रधानमन्त्रीविरुद्धमा सर्वोच्च अदालत गएकोजस्ता कुरा छन् । यी विवादित होलान् । यदि संसद् विगटनको कुरा लोकतन्त्रका लागि घाटा छैन, अन्यथा होइन भन्ने लागेको थिएन भने जाँदिन थिएँ ।
मैले के बुझेँ भने लोकतन्त्र बचाउनको लागि, संसद् बचाउनको लागि, संविधान बचाउनको लागि, जे पनि गर्नुपर्छ भनेर म हिजो अदालत गएँ । यसअर्थमा लोकतन्त्रप्रतिको मेरो आस्था र विस्वास अटुट छ । म वाम आन्दोलनको एकता लागि मेरो सम्पूर्ण प्रयत्न हिजो लागे, भोलि पनि लाग्नेछु । यसर्थ लोकतन्त्र रक्षा र वाम आन्दोलनको एकता र यसको सुदृढीकरण लागि आगामी मेरो यात्रा जारी रहने छ ।
चुनावको बारेमा मैले अझै छलफल गर्न पाएको छैन । म छलफल गर्दैछु । विचार गर्दैछु । वाम आन्दोलनको असाध्यै राम्रो पार्टी हो । समस्या के भो भने, यतिको राम्रो पार्टी, यतिको राम्रो इतिहास भएको पार्टी, यतिको लोकतान्त्रिक पार्टी, वामपन्थी पार्टी लिडरसिपले कब्जा गरिदियो । म नेकपा कम्युनिष्ट आन्दोलनकर्मी भएँ । वाम आन्दोलनको कर्मी हुँ । नेपालको लाकतान्त्रिक आन्दोलनको कर्मी हुँ । मैले पार्टी छाडेको कुरा मेरा साथीहरूले दुखद् हो भन्नुभएको छ ।
मैले ४५ वर्ष जीन्दगी जहाँ कुनै पनि व्यक्तिगत निजी लोभमा नरहेर आजसम्म मैले मेरा विचारहरू राखे । त्यो मान्छे ४५ वर्ष पछाडि निस्कुनपर्दा खेरी दुःखको घाउ स्वयं मलाई छ । अरुले फिल गर्नुभएको छ, म त्यो स्वभाविक मान्छु । तर, हामी कुनै आन्दोलनको दौरानमा ति सबै साथीहरूसँग भेट हुन्छ भन्ने मेरो विश्वास छ ।
दश बुँदेको स्प्रीटमा रहेर कुरा गरिरहेको जो–जो रहे उनीहरूलाई टिकट दिइएन । १० बुँदे भनेको त १० भाइ मात्र होइनन् अरु पनि जो–जो कमिटीमा थिएनन् सांसद थिए । पढे–लेखेका हुन्, राम्रा र समर्पित साथीहरू हुन्, तिनीहरू पनि जो १० बुँदेको स्प्रीटमा रहेनन्, तिनीहरूलाई पनि टिकट दिइएन । यो चाहिँ राम्रो भएन ।