राप्रपा अध्यक्षमा उम्मेदवारी दिन १ लाख शुल्क, रेखा थापाले महामन्त्रीमा उम्मेदवारी दिने

राप्रपा अध्यक्षमा उम्मेदवारी दिन १ लाख शुल्क,  रेखा थापाले महामन्त्रीमा उम्मेदवारी दिने

१६ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क १ लाख रुपैयाँ तोकिएको छ । त्यस्तै उपाध्यक्षमा उम्मेदवारी दिन ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको निर्वाचन समितिका संयोजक निरञ्जन थापाले जानकारी दिए ।

बुधबार सुरु भएको राप्रपा महाधिवेशनले अध्यक्ष, १ महिलासहित ४ जना उपाध्यक्ष, १ महिलासहित ३ जना महामन्त्री र १४१ जना केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुँदैछन् ।निर्वाचन समितिका संयोजक थापाका अनुसार शुक्रबारदेखि मात्र निर्वाचन कार्यक्रम सुरु हुनेछ । बिहीबारसम्म मतदाता नामावली प्रकाशन गर्ने र शुक्रबार निर्वाचन कार्यक्रम सुरु गर्ने समितिको तयारी छ ।

 रेखा थापाले महामन्त्रीमा उम्मेदवारी दिने

नायिका रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी छन् । यसअघि सो पार्टीका केन्द्रीय सदस्य समेत रहेकी नायिका थापाले (महिलातर्फ) महामन्त्री पदमा उम्मेदवारी दिने भएकी हुन् ।

थापा केही दिनअघि राजेन्द्र लिङ्देनले अध्यक्षको उम्मेदवारी दिँदा उनीसँगै देखिएकी थिइन् । राप्रपा प्रवेश गर्नुअघि थापा नेकपा माओवादीमा थिइन् । राप्रपामा नयाँ नेतृत्वको चयनका लागि शुक्रबार मतदान हुन लागेको छ । राजधानीमा बुधबारदेखि सुरु महाधिवेशन अहिले जारी छ ।

नेतृत्व चयन प्रक्रिया आजदेखि

राप्रपाको एकता बुधबारबाट सुरु भएको एकता महाधिवेशनअन्तर्गत बिहीबार निर्वाचन प्रक्रिया सुरु हुन लागेको हो । भावी अध्यक्षमा कमल थापा र राजेन्द्र लिङदेनले उम्मेदवारी घोषणा गरेका छन् । राप्रपाका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गरेका छन् । अर्का अध्यक्ष पशुपतिशम्शेर जबरा भने पार्टी एकताका लागि सहमतिको आधारमा नेतृत्व चयन गर्नुपर्ने भन्दै कतै खुलेका छैनन् ।

अध्यक्षका दावेदार थापा र लिङ्देन दुवैले राजसंस्था र हिन्दुराज्य पुनर्स्थापना तथा संघीयता खारेजीको एजेन्डा अघि सारेका छन् । उदघाटन सत्र सकिएलगत्तै काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु भएको थियो । देशभरबाट ४२ सय प्रतिनिधिहरू सहभागी रहेको बन्दसत्रमा अध्यक्ष थापाले राजनीतिक कार्यपत्र, अर्का अध्यक्ष जबराले सामाजिक कार्यपत्र र डा. लोहनीले आर्थिक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रहरुमाथि बुधबारदेखि नै छलफल सुरु भएको थियो । छलफल बिहीबार पनि जारी रहने र त्यो सकेर नेतृत्व चयन प्रक्रिया सुरु हुने राप्रपाका नेताहरुले जनाएका छन् ।

महाधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, महामन्त्रीसहित एक सय ४१ जना निर्वाचित हुनेछन् । पार्टी अध्यक्षले सातजना सहमहामन्त्री, सातजना सहायक महामन्त्री, एकजना कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता, सहायक कोषाध्यक्षसहित ५० जना मनोनित गर्न पाउने राप्रपाको विधानमा व्यवस्था छ । राप्रपामा अध्यक्षबाहेकका पदाधिकारीमा निर्वाचन हुन लागेको पहिलोपटक हो ।