२२ असोज, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकारी निवास छाडेका छन् । प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताको अघिल्लो दिन शनिबार सापकोटा सरकारी निवास छाडेर निजी निवासमा फर्किएका हुन् ।
उनले सभामुखको रुपमा पाउने सरकारी सेवा सुविधा पनि छाडेको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । सरकारी सेवा सुविधा छाड्नु अगाडि सापकोटाले पत्रकार सम्मेलन गरेका थिए । उनले आसन्न चुनाव नलड्ने पनि घोषणा गरेका छन् ।
चुनाव नलड्ने घोषणा
सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकबाट प्रतिनिधि सभाको चुनाव नलड्ने घोषणा गर्नुभएको छ । आज पत्रकार सम्मेलन गरेर सभामुख सापकोटाले युवाहरुलाई अवसर दिन र नेतृत्वमा ल्याउनको लागि आफूले आउँदो मंसिर ४ गते हुने चुनाव नलड्ने घोषणा गर्नुभएको हो ।
सापकोटा २०६४ सालको संविधानसभाको चुनावसहित तीन वटै चुनावमा सिन्धुपाल्चोक–१ बाट विजयी हुनुभएको थियो । सभामुख सापकोटाले आजसम्म सिन्धुपाल्चोकको जनप्रतिनिधि भएर जिल्लाको विकास निर्माणमा ठूलो योगदान दिएको र अझै पनि आफ्नो क्षमताले भ्याएसम्म जिल्ला र समग्र देशकै समृद्धिको लागि पहल गर्ने पनि बताउनुभएको छ ।