२३ असोज चितवन । नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद जगन्नाथ पौडेलले चितवन क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । अनलाइनखबरका अनुसार कुरा नेता पौडेलले चितवन ३ मा कांग्रेसकै नेता–कार्यकर्ताहरुको दबावमा उम्मेदवारी दिन लागेको बताए ।
सत्ताधारी गठबन्धनको तर्फबाट माओवादी केन्द्रले डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ । गएको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा कांग्रेसले माओवादी केन्द्रका रेनु दाहाललाई उम्मेदवार बनाएपछि पौडेलले मेयरमा बागी उम्मेदवारी दिएका थिए । महानगरमा उनले करिब १५ हजार मत ल्याएका थिए । कांग्रेसले अरू दल बोकेर हिँड्न हुन्न भन्ने एजेन्डा आफूले स्थापित गर्न खोजेको र त्यसमा सफल पनि भएको उनले दाबी गरे ।
नवलपरासी १ बाट विनोद चौधरी
अर्बपति व्यापारी विनोद चौधरीलाई नेपाली कांग्रेसले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने भएको छ । यसअघि समानुपातिकबाट प्रतिनिधिसभा सदस्य रहेका चौधरी पहिलोपटक प्रत्यक्ष उम्मेदवार बनेका हुन् ।
२०७० को संविधान सभा चुनावमा नेकपा एमालेले उनलाई यही क्षेत्रमा प्रत्यक्षतर्फ उठाउने तयारी गरेको थियो । तर त्यतिबेला उनले प्रत्यक्षमा चुनाव लड्न चाहेनन् । २०६४ को संविधान सभा चुनावमा एमालेबाट समानुपातिक सभासद बनेका चौधरी २०७४ मा भने कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए । उद्योगपति समेत रहेका चौधरीसँग अब जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीको प्रतिस्पर्धा हुने छ ।



