मनोनयन दर्ता गर्न प्रचण्डसँगै गोरखा जाँदै बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ

मनोनयन दर्ता गर्न प्रचण्डसँगै गोरखा जाँदै बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ

गोरखा २ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिन लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई साथै लिएर समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ गोरखा जाँदैछन्।

आफूले चुनाव लड्दै आएको निर्वाचन क्षेत्र गोरखा- २ मा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ को उम्मेदवारी दर्ता गर्न उनी आइतबार प्रचण्डसँग गोरखा जान लागेका हुन्।‘गोरखा-२ बाट क. प्रचण्डको उमेदवारी विधिवत प्रस्तुत गर्न सँगै गोरखातिर लागियो’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँका दिवंगत पिता र हाम्रा सकुशल जीवित पिताको आशिर्वाद लिएर जीवनको अन्तिम कालखण्डमा सहकार्यको नयाँ अध्याय थालनी गरियो। सबैको साथ र सहयोगको अपेक्षा!’

माओवादीले गोरखा- २ मा अध्यक्ष दाहाललाई उठाउने निर्णय गरेको हो। उनी यसअघि चितवन- ३ बाट निर्वाचित भएका थिए। अहिलेसम्म तीनवटा संसदीय निर्वाचन लडेका प्रचण्डले प्रत्येकपटक क्षेत्र फेरेका छन्। काठमाडौं- १० बाट दोहोर्‍याएर लड्दा उनी पराजित भएका थिए। २०६४ मा रोल्पा- २ र काठमाडौं- १० बाट निर्वाचन जितेका प्रचण्डले २०७० को निर्वाचनमा काठमाडौं- १० बाट हारेका थिए भने सिरहा- ५ बाट झिनो अन्तरले जितेका थिए।

२०७४ मा चितवन- ३ बाट निर्वाचित प्रचण्डले यसपटक गोरखा रोजेसँगै उनी चार चुनावमा चार क्षेत्रबाट निर्वाचन लड्ने नेता हुनेछन्। गोरखाका माओवादी नेता-कार्यकर्ता र जनप्रतिनिधिले प्रचण्डलाई भेटेर चितवनभन्दा गोरखा धेरै सुरक्षित रहेको र जित्नलाई धेरै मेहनत पनि गर्न नपर्ने हुँदा देशभर समय दिन पाइने तर्क गरेका थिए।