दाङमा एमालेबाट शंकर पोखरेल र सत्ता गठबन्धनबाट रेखा शर्मा भिड्दै

दाङमा एमालेबाट शंकर पोखरेल र सत्ता गठबन्धनबाट रेखा शर्मा भिड्दै

२३ असोज, दाङ । मंसिर ४ गते हुने प्रतिनिधिसभाका लागि नेकपा एमालेकोबाट शंकर पोखरेल र सत्ता गठबन्धनको तर्फबाट  रेखा शर्मा भिड्ने भएका छन्। सत्तारुढ गठबन्धन उम्मेदवारहरुको टुंगो लगाएपछि रेखा शर्मा संकरसंग भिड्ने भएकी हुन्।

गठबन्धनको भागबण्डा अनुसार प्रतिनिधि सभातर्फ दाङ क्षेत्र नं. १ मा नेकपा एकीकृत समाजवादी, २ मा माओवादी केन्द्र र ३ मा नेपाली कांग्रेसको भाग परेको छ । दाङ क्षेत्र नं. १ मा नेकपा एकीकृत समाजवादीका मेटमणी चौधरी, क्षेत्र नं. २ मा नेकपा माओवादीकी रेखा शर्मा र क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका दीपक गिरी उम्मेदवार छन् ।

नेकपा एमालेले प्रतिनिधि सभातर्फ दाङ क्षेत्र नम्बर १ मा शान्ता चौधरी, २ मा महासचिव शंकर पोखरेल र ३ मा कोमल ओलीलाई उम्मेदवार बनाएको छ । प्रदेशसभा तर्फ सत्ता गठबन्धनबाट क्षेत्र नं. १ (क) मा नेकपा माओवादी केन्द्रका इन्द्रजित थारु र (ख) मा नेपाली कांग्रेसका अनुराग खड्कालाई उम्मेदवार बनाइएको छ । इन्द्रजित अघिल्लो निर्वाचनमा पनि प्रदेश सभामा निर्वाचित भएका थिए । खुमबहादुर खड्काका छोरा अनुराग भने पहिलो पटक निर्वाचन लड्न लागेका हुन् ।

त्यस्तै क्षेत्र नं. २ (क) मा नेपाली कांग्रेसका राजु खनाल र २ (ख) मा कांग्रेसकै प्रचण्ड विक्रम न्यौपाने उम्मेदवारले टिकट पाएका छन् । राजु खनाल प्रतिनिधि सभाको पूर्व सदस्य हुन् । न्यौपाने भने पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् ।

त्यस्तै क्षेत्र नं. ३ (क) मा कांग्रेसका डिल्लीबहादुर चौधरी र (ख) मा नेकपा माओवादी केन्द्रका धनबहादुर मास्की उम्मेदवार छन् । चौधरीले अघिल्लो पटक प्रदेश सभा सदस्य निर्वाचन जितेर मन्त्री बनेका थिए । माओवादी लडाकुको पूर्व डिभिजन कमाण्डर मास्कीको भने चुनावमा पहिलो प्रतिस्पर्धा हो ।