टिकट नपाएपछि कांग्रेस नेताले गरे पार्टी परित्याग

टिकट नपाएपछि कांग्रेस नेताले गरे पार्टी परित्याग

काठमाडौँ  । नेपाली कांग्रेसका नेता किरण पौडेलले उम्मेदवार छनोटमा असन्तुष्टि जनाउँदै कांग्रेस परित्याग गर्ने घोषणा गरेका छन् । उनी बागलुङ-१ बाट प्रतिनिधिसभा सदस्यको लागि आकांक्षी थिए । जिल्लाबाट पौडेलसहित १० जनाको नाम सिफारिस भएको थियो । तर सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा बाग्लुङ-१ राष्ट्रिय जनमोर्चाको भागमा परेको छ ।

नेपाल विद्यार्थी संघको केन्द्रीय महामन्त्री भएरसमेत काम गरिसकेका पौडेललाई सभापति शेरबहादुर देउवाले अघिल्लो कार्यकालमा आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए ।

नेता पौडेलले आफूले तीन पटकसम्म संसदीय राजनीतिका लागि प्रयास गर्दासमेत पार्टीले मौका नदिएको भन्दै अब पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिने घोषणा गरेका छन् ।

‘कांग्रेसले उम्मेदवार सिफारिस र छनौट गर्दा अपनाएको सिद्धान्त, विधि, पद्धति र प्रक्रियाको कुनै पनि मापदण्डमा मेरो नाम अटाउन सकेन। मैले संसदीय राजनीतिको अभ्यास गर्ने स्थान खोजेको र अन्तिम अबस्थामा बाहिरिन पुगेको यो तेश्रो पटक हो,’ पौडेलले भनेका छन्, ‘यस पटक न्यायोचित निर्णय आउने आशामा थिएँ, तर आएन।

नेबिसंघको राजनीतिक पृष्ठभूमिबाट संलग्न हुँदै कांग्रेस पार्टी संगठनको हितका लागि जीवन समर्पण गरेका म जस्ता साथीहरूलाई तेजोबध गरिएको महसूस भएको छ।’ उनले आफुले ४४ वर्षसम्म निरन्तर पार्टीमा काम गरेको दाबी गर्दै मुख्यसचिवमार्फत् सभापति देउवालाई पार्टीको साधारण सदस्य परित्याग गरेको पत्र बुझाएका छन् ।