२३ असोज, रौतहट । पूर्वमन्त्री प्रभु साहले नेकपा एमालेले दिएको टिकट अस्वीकार गरेर स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेले जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गरेसँगै रुष्ट बनेका उनले रौतहटको क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । जसपाले पाएको सबै क्षेत्रमा पनि उनको समूहले स्वतन्त्र उम्मेदवारी दिएको छ ।
एमालेले एक्लै देश बनाउँछ, भागवण्डाको राजनीति गर्दैन भनेर पार्टीमा लागेको, तर नेतृत्वले मधेश जसपालाई जिम्मा लगाउने काम गरेको उनको दाबी छ ।
‘जसले सम्प्रदायिकता फैलाउँछ, मधेस प्रदेशमा भ्रष्टाचार गरेको छ, त्यो पार्टीलाई मधेस जिम्मा लगाउनु राष्ट्रघाती काम हो’, साहले भने, ‘एमालेबाट टिकट लिएपछि मैले पनि जसपाको बचाउ गर्नुपर्छ । त्यसो गर्नुभन्दा स्वतन्त्र उम्मेदवार लड्नु उपयुक्त देखेँ ।’
‘एमाले पार्टीले देशमा एकता, समृद्धि गर्ने सम्भावना बोकेको थियो भनेर लागेका थियौं । जसपाजस्तो भ्रष्ट, घोटाला नै घोटाला गर्ने, मधेसी र पहाडीबीच साम्प्रदायिकता फैलाउने शक्तिसँग अनैतिक सम्बन्ध बनाएपछि हामी असन्तुष्ट भएका थियौं । हामीले निरन्तर भनिरहेका थियौं कि यसले मधेस र देशमा पार्टीलाई घाटा हुन्छ,’ उनले भने, ‘कुर्सीको खेलका लागि देशमा अस्थिरता ल्याउनुहुन्न भन्दा पनि सुनुवाइ भएन ।
मधेसको अस्थिर, साम्प्रदायिक शक्तिसँग साँठगाँट गरेको एमालेको टिकटबाट लड्यो भने त त्यसको बचाउ गर्नुपर्छ । महान् पार्टी हो उपेन्द्रजीको भन्नुपर्छ । गठबन्धन बनाइसकेपछि एमाले स्वच्छ रहेन, अपवित्र रह्यो । त्यो अपवित्रतामा सँगै हिँड्न सकिँदैन भनेर स्वतन्त्र उठेको हुँ ।’
साहले जसपासँग गठबन्धन गरेका ठाउँमा आफ्नो समूहबाट स्वतन्त्र उम्मेदवार बन्न लगाएको बताएका छन् । साह २०६३ मा माओवादीबाट अन्तरिम व्यवस्थापिका संसद्को सदस्य थिए । संविधानसभामा २०६४ र २०७० मा रौतहट ३ बाट निर्वाचित उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रबाट रौतहट ३ बाट निर्वाचित भएका थिए । तत्कालीन नेकपा विभाजित भएपछि एमालेतर्फ लागेका साहको सांसद पद खारेज भएको थियो । एमालेमा लागे पनि उनी पटक-पटक असन्तुष्टि जनाउँदै आएका थिए ।