मुख्य सामग्रीमा जानुहोस्
Saturday, 12 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
समाचार

भारतले पेट्रोल र डिजेलको मूल्य घटाएर पठायो, तर नेपालले नघटाउने

Himali Patrika 1 मिनेट पढाइ

भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थमा मूल्य घटाएर पठाए पनि नेपाल आयल निगमको घाटा घटेको छैन। नेपाल आयल निगमका अनुसार बुधबार (डिसेम्बर १) मा पठाइएको नयाँ मूल्यसूचीमा पेट्रोल प्रतिलिटर ५ रुपैयाँ ६५ पैसा र डिजेल प्रतिलिटर ३ रुपैयाँ ६२ पैसा घटेर आएको हो।

भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आए पनि नेपालमा भने घटाउन नसकिने निगमले जनाएको छ। पेट्रोल र डिजेलको मूल्य सामान्य घटे पनि ग्यासको मूल्य झन् बढेको तथा घाटा यथावत् रहेको दाबी निगमले गरेको छ। खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर ९२ रुपैयाँ २० पैसा बढे पछिल्लो समय बढेर आएको नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

आयल निगमको घाटा नघटेको भएर नेपालमा पेट्रोल–डिजेलको मूल्य घटाउन नसकिने निगमले स्पष्ट पारेको छ। बिक्री-वितरणका आधारमा १५ दिनमा पेट्रोलमा मात्रै ३२ करोड ७२ लाख रुपैयाँ र डिजेलमा ५० करोड ७२ लाख रुपैयाँ घाटा हुने अनुमान निगमले गरेको छ। यस्तै ग्यासमा १ अर्ब २६ करोड २० लाख रुपैयाँ घाटा हुने उसको दाबी छ। समग्रमा १५ दिनमा करिब १ अर्ब ९५ करोड घाटा हुने निगमले अनुमान गरेको छ।

निगमका अनुसार पेट्रोलियम पदार्थको बजार मूल्य अनुरूप नेपाल र भारतको स्थानीय बजारमा समायोजित पछिल्लो मूल्य स्थिति अनुरूप भारतीय सीमा बजार रक्सौलको तुलनामा नेपाली सिमा बजार वीरगन्जमा पेट्रोल प्रतिलिटर ३७.४२ रूपैयाँ सस्तो र डिजेल ३०.५४ रूपैयाँ सस्तो र खाना पकाउने ग्याँस प्रतिसिलिन्डर ५०.६५ रूपैयाँ सस्तो रहेको बताएको छ।

हाल नेपालमा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ३६ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ११९ रुपैयाँ, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ तोकिएको छ। साभार: सेतोपाटीबाट 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।