काठमाडौं । बलिउड निर्देशक करण जोहरले आफ्नो ट्विटर अकाउन्ट बन्द गरेका छन् । अत्यधिक ट्रोल र नकारात्मक कमेन्टहरूको शिकार बनेपछि उनले ट्विटरबाटै ‘सन्न्यास’ लिएका हुन् ।
आफ्नो अन्तिम ट्विटमा करणले ‘सकारात्मक ऊर्जाका लागि मात्र ठाउँ खाली गर्न’ ट्विटरबाट बिदा भएको उल्लेख गरेका थिए । उनको अकाउन्ट नै बन्द भएकाले अहिले सो ट्विट उपलब्ध छैन ।
करणले मङ्गलवार अन्तिम ट्विट लेखेका थिए, ‘सकारात्मक ऊर्जा मात्रका लागि स्थान खाली गर्ने दिशामा यो कदम चाल्दै छु– गुडबाइ ट्विटर ।’ त्यस लगत्तै उनले आफ्नो अकाउन्ट डिएक्टिभेट गरे ।
करणको ट्विटमा धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन् । केहीले भने फेरि पनि ट्रोल गरिरहेका छन् । ट्विटरबाट बिदा भए पनि करणले इन्स्टाग्राममा भने सक्रिय नै रहनेछन् । बलिउडमा नेपोटिज्मलाई प्रश्रय दिएको भनेर उनको आलोचना हुँदै आएको छ ।
यस्तै, उनलाई समलिंगी भनेर पनि ट्रोल गर्ने गरिन्छ । केही समयअघि आफ्नै टेलिभिजन कार्यक्रम कफी विथ करणमा उनले सामाजिक सञ्जालका ट्रोलले आफूलाई मात्र नभएर आफ्ना बच्चाहरूलाई पनि असर परिरहेको बताएका थिए ।
सामाजिक सञ्जालमा भइरहेको ट्रोलिङले करणलाई खराब अनुभव तुल्याएको भारतीय मिडियाले लेखेका छन् । उनका साथीले भनेका छन् – जतिबेला मैले फोन गर्छु, उनी रुँदै भन्छन्, मैले त्यस्तो के गरेको थिएँ र मैसँग यस्तो भइरहेको छ?
करण आफ्ना कारणले मात्र नभएर आफूसँग जोडिएका साथीहरुलाई सामाजिक सञ्जालमा हमला गरेका कारण पनि चिन्तित छन् । साथै करणलाई धम्की पनि आइरहेको ती साथीले खुलासा गरेका छन् ।
पछिल्लो समय नेपोटिज्ममाथि बहसमा विवादमा मुछिएका करणले मुम्बई एकेडेमी अफ मुभिङ इमेजको निर्देशक पदबाट राजीनामा दिएका थिए । करणले पछिल्लो समय ट्वीटरमा पनि ८ सेलिब्रेटीलाई बाहेक सबैलाई अनफलो गरेका छन् । साथै इन्स्टाग्राममा पनि कमेन्ट गर्न नमिल्ने बनाएका छन् ।