प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरूलाई हटाउने तयारी गरेका छन्। सत्तागठबन्धन छाडेर प्रतिपक्षी एमालेको गठबन्धनमा सामेल भएपछि देउवाले जसपाका मन्त्री हटाउने तयारी गरेका बालुवाटार स्रोतले जनाएको छ।
जसपाबाट राजेन्द्रप्रसाद श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायातमन्त्री, प्रदीप यादव वन तथा वातावरणमन्त्री र मृगेन्द्रकुमार सिंह कृषि तथा पशुपन्छी विकासमन्त्री रहेका छन्।
सत्तागठबन्धन छाडेसँगै जसपाले एमालेसँग १७ सिटका लागि तालमेल गरेको छ। गत शनिबार एमाले अध्यक्ष केपी ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले चुनावपछि पनि निरन्तर सहकार्य रहने सहमतिसहित तालमेल गर्ने निर्णय गरेका थिए। जसपाका मन्त्री हटाउने विषयमा छलफल गर्न देउवाले दिउँसो २ बजे बालुवाटारमा गठबन्धनको बैठक बोलाएका छन्।