आगामी चुनावमा एमाले पत्तासाफ: माधव नेपाल

आगामी चुनावमा एमाले पत्तासाफ: माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा एमालेलाई पत्तासाफ पार्ने दाबी गरेका छन्। अहिलेको सत्ता गठबन्धनलाई निर्वाचनसम्म टुट्न नदिने र निर्वाचनबाट एमालेलाई पत्तासाफ पार्ने उनले दाबी गरे।

शनिबार नेकपा एकीकृत समाजवादीले अर्घाखाँचीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले सत्ता गठबन्धनलाई टुटाउन विभिन्न शक्ति लागिरहेको भन्दै गठबन्धनलाई कसैले टुटाउन खोजे पनि नटुट्ने, बरू अझै सशक्त भएर अगाडि बढ्ने बताए।

‘नजिक आइरहेको राष्ट्रिय सभा चुनावसँगै अरू आउने स्थानीय, प्रदेश र संघीय चुनावमा पनि पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार उठाएर एमालेलाई पत्तासाफ पार्ने सल्लाह गरेका छौं,’ नेपालले भने।

Europass CV in Nepal

नेता नेपालले अर्घाखाँचीमा रिक्त रहेको निर्वाचन क्षेत्रमा उपनिर्वाचन गर्ने वा अर्को वर्ष एकैपटक निर्वाचन गर्नेबारे छलफल भइरहेको भन्दै जहिले निर्वाचन भए पनि एमाले पूरै पत्तासाफ हुने दाबी गरे।

उनले अर्घाखाँचीमा पनि गठबन्धनलाई बलियो बनाउने गरी लाग्न पार्टीका नेता/कार्यकर्तालाई आग्रह गरे। पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले एमालेभित्र फरक मत राख्नेहरूको अपमान भइरहेको भन्दै आफू पनि अपमान सहन नसकी विद्रोह गरेर निस्किएको बताए।

उनले एमालेमा रहेका नेता/कार्यकर्ताले विद्रोह गर्नुको विकल्प नरहेको बताए।एमालेले जनताको बहुदलीय जनवादका गफमात्रै हाँकिरहेको भन्दै नेता नेपालले केपी ओलीले जनताको बहुदलीय जनवादलाई चितवनको नारायणी नदीमा विसर्जन गरेको टिप्पणी गरे।

कार्यकर्ता भेलालाई नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज भागवत विश्वासी, लुम्विनी प्रदेश अध्यक्ष मेटमणि चौधरी लगायतले सम्बोधन गरेका थिए।

 

Europass CV in Nepal