९९ बर्षे टिकादत्त पोखरेल गोरखामा प्रचण्ड विरुद्ध चुनाव लड्ने

९९ बर्षे टिकादत्त पोखरेल गोरखामा प्रचण्ड विरुद्ध चुनाव लड्ने

गोरखा । २००७ सालमा मुक्ति सेनामा लागेर आन्दोलन गरेका शताब्दी पुरुष टिकादत्त पोखरेलले आउँदो चुनावमा प्रचण्डसित प्रतिस्पर्धा गर्ने भएका छन्। सिरानचोक गाउँपालिका–४ माझगाउँबेंसीका सय वर्षीय पोखरेलले गोरखा–२ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदारी दिएका हुन्। पोखरेल कांग्रेस निकट हुन्।

नेपाली सेनाको सात वर्षको जागिर छाडेर मुक्ति सेनामा लागेर युद्ध गरेका उनले यसअघि कुनै पनि राजनीतिक तथा लाभको पद लिएनन्। ‘काम गर्ने हामी, देशै लुटेर खाने अरू भए। अब त अत्ति भो भनेर पहिलोपटक चुनाव लड्न लागेको हुँ’, उनले भने, ‘२०४७ सालमा किसुनजीले राष्ट्रियसभामा जाने त भनेर सोध्नुभएको थियो। जनताले अझै राम्ररी खान लाउन पाएका छैनन्। हामीले पद लिने बेला भएको छैन भनेर गइन्। हाम्रो रगत खेरा जाने भयो भनेर अहिलेचाहिँ आफैं लडेको हो।’

आफ्नो निर्वाचन क्षेत्र चाहार्न सक्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘पर्‍यो भने युद्ध लड्न सक्छु, निर्वाचन क्षेत्र चाहार्न किन नसक्ने ? बीपीले अन्तिममा भन्नुभएको थियो, सुकिलामुकिला हाबी हुनेछन्, त्यतिबेला फेरि युद्ध लड्नुपर्नेछ। आज त्यस्तै भएको छ।’ १९८० कात्तिक १५ गते जन्मेका उनी १४ वर्षकै उमेरमा नेपाली सेनामा भर्ती भएँ। हुँदाखाँदाको जागिर छाडेर मुक्ति सेनामा भर्ती भए। बीपी, सुवर्ण शमसेर, गणेशमान, कृष्णप्रसादसँग ४ वर्ष जेल बसे। ४ वर्ष निर्वासनमा बसे। २००७, २०१८, २०३६, २०४६ को आन्दोलन लडे।

उनका सहयोद्धा अहिले कोही छैनन्। उनको योगदान सम्झेर थिरबम मल्ल प्रतिष्ठानले तीन वर्षअघि अभिनन्दन गरेको थियो। त्यसबाहेक उनले कुनै लाभ नलिएका उनका आफन्त सीपी पोखरेल बताउँछन्। ‘एउटा छोरा गाउँमै खेती किसानी गरेर बस्नुहुन्छ। अर्का छोरा प्रेस काउन्सिलको जागिर छाडेर कोरियातिर वैदेशिक रोजगारीमा जानुभयो। अहिले चितवनतिर घरगृहस्थी गरेर बस्छन्। उहाँ पनि अहिलेसम्म लठ्ठी टेक्नु पर्दैन।’