२६ असोज, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीको उम्मेदवारी खारेज भएको बर्दिया क्षेत्र नम्बर २ मा उनको बुवा चुनाव लड्ने भएका छन् । चौधरीको उम्मेदवारी खारेज हुनसक्ने पूर्वानुमान गरेर उनका बुवा लालवीर चौधरीले स्वतन्त्र रुपमा बर्दिया क्षेत्र नम्बर २ मै उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन आयोगले मंगलबार चौधरीको उम्मेदवारी खारेज गरिदिएको थियो ।रेशम चौधरीकी श्रीमती एवम् नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले अब बर्दिया क्षेत्र नम्बर २ मा रेशम चौधरीका बुवा निर्वाचन लड्ने बताइन् ।
टीकापुर घटनामा दोषी ठहर भएर कैद सजाय काटिरहेका रेशम चौधरी र सोही घटनामा फरार रहेका लक्ष्मण थारुको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको छ । चौधरीले बर्दिया–२ मा र थारुले कैलाली–५ मा उम्मेदवारी दिएका थिए । चौधरी र थारु दुवैको उम्मेदवारी खारेज भएको छ ।
मनोनयन दर्ता गर्दा नै रेशम चौधरीलाई पार्टीबाट र उनका बुवा लालवीर चौधरीलाई स्वतन्त्रबाट उम्मेदवार बनाइएको थियो । अहिले रेशम चौधरी निर्वाचनमा होमिन नपाउने भएपछि उनका बुवालाई उम्मेदवार बनाइएको नागरिक उन्मुक्तिका प्रवक्ता दामोदर पण्डितले जानकारी दिए ।
अघिल्लो पटक कैलाली १ बाट प्रतिनिधि सभामा जसपाबाट रेशम चौधरी उम्मेदवार बन्दा उनका बुवा नेकपा एमालेबाट प्रदेश सभामा उम्मेदवार बनेका थिए । प्रतिनिधि सभामा रेशमले भारी मते जित्दा बुवा भने जसपाकै कृष्ण चौधरीसँग पराजित भएका थिए । अहिले कैलाली १ बाट प्रतिनिधि सभामा रेशम पत्नी रन्जिता श्रेष्ठ चौधरी उम्मेदवार बनेकी छन् ।उनी नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष पनि हुन् ।





