काठमाडौँ। नेपालमा अझै एक हप्ता मौसमी वर्षा रहिरहने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ। जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् सुमनकुमार रेग्मीले बुधबार न्यूज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उनले त्यसका लागि विभागले मौसमी सिष्टमको निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै उचित समयमा त्यसको बाहिरिने अवस्थाबारे सार्वजनिक गर्ने बताए।
वरिष्ठ मौसमविद् रेग्मीले मौसमी वर्षात् सकिए पनि ठूलै धनमालको जोखिम हुने अवस्था सकियो भन्ने नमिल्ने पनि स्पष्ट पारे। वर्षात् सकिए पनि त्यसको जोखिम भने कायमै रहन सक्ने उनको भनाइ थियो।
वरिष्ठ मौसमविद् रेग्मीले भने, ‘अहिले तत्कालै आज भोलि नै मौसम बाहिरिने सम्भावना छैन। तथापि सम्भवतः अर्को हप्ता मौसम बाहिरिन सक्छ। अब हामी कहिले मौसम बाहिरिन्छ भन्ने सन्दर्भमा चाहिँ मौसमी सिष्टमलाई निरन्तर अनुगमन गरिराखेका छौं। बाहिरिने अवस्था भएपछि हामी सार्वजनिक गर्छौं उचित समयमा। अब धनमालमै क्षति हुने अथवा कुनै त्यस्तो जोखिम निम्त्याउने भनेको मनसुनी वर्षाले मात्रै हुँदैन। मनसुन पछाडिका अरू समयमा पनि त्यस्ता खालको मौसमी गतिविधि हुन सक्छ। त्यसकारणले मौसम सकिएपनि त्यस्ता जोखिम निम्तन नसक्ने भन्ने चाहिँ होइन।’
विभागले आगामी हिउँदको मौसमी अवस्था कस्तो हुन्छ? भन्नेबारे हिउँद याम सुरू हुनुअघि नै जानकारी दिने पनि बताएको छ।वरिष्ठ मौसमविद् रेग्मीले डिसेम्बर, जनवरी र फेब्रुअरी महिना हिउँद याम हुने भन्दै त्यसको जानकारी समय आउनु अगावै दिने बताए। उनले आगामी हिउँदको मौसमी अवस्था कस्तो हुन्छ? भनेर अहिले नै पूर्वानुमान गर्न नमिल्ने पनि बताए।
वरिष्ठ मौसमविद् रेग्मीले भने, ‘भर्खर मौमस सकिँदैछ अहिले। जल तथा मौसम विज्ञान विभागले अब आउँदो हिउँद कस्तो हुन्छ भनेर अहिले नै पूर्वानुमान गर्ने चाहिँ हामीले डिसेम्बर, जनवरी र फेब्रुअरी महिनालाई हामी हिउँदको मौसम भन्छौं। हिउँदमा वर्षातको अवस्था कस्तो हुन्छ भन्ने कुरालाई हामी डिसेम्बर अगाडि नै सार्वजनिक गर्छौं।’ विभागले मौसमी अवस्थाबारे २४ घण्टा नै सेवा दिइरहने गर्दछ।