महिला डाक्टर आफ्नै कोठामा मृत फेला, हत्केलामा भेटियो खाली सिरिन्ज

महिला डाक्टर आफ्नै कोठामा मृत फेला, हत्केलामा भेटियो खाली सिरिन्ज

काठमाडौं । सिभिल अस्पतालकी डाक्टर सुस्मिता पाठक इमाडोलस्थित आफ्नै कोठामा मृत भेटिएकी छन्। जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी मनोजकुमार लामाका अनुसार मंगलबार दिउँसो २ बजे उनी मृत फेला परेकी हुन्।

जलेश्वर नपा-९ महोत्तरी स्थायी घर भई हालः ललितपुरको इमाडोलमा रहेको कृष्ण सुवेदीको घरमा भाडामा बस्ने २७ वर्षीया डाक्टर पाठक आफू बस्ने गरेको कोठामा भित्रबाट चुकुल लगाएको अवस्थामा मृत फेला परेकी थिइन्।

दिउँसो २ बजेसम्म पनि डाक्टर पाठक बस्ने कोठाभित्रबाट बन्द भएपछि घरबेटीले प्रहरी बृत सातदोबाटोमा खबर गरेका थिए। सातदोबाटो र इमाडोलबाट प्रहरी टोली गई स्थानीय जनप्रतिनिधि र डाक्टर पाठकको आफन्तको रोहवरमा बन्द कोठा फोडेर हेर्दा पाठक कोठाको भुइँमा मृत अवस्थामा फेला परेकी थिइन्। प्रहरी स्रोतक अनुसार मृतकको कोठाबाट ‘सुसाइट नोट’ फेला परेको छ।

कोठाको खाटमा औषधि भरिएको सिरिन्ज, उपचारको क्रममा प्रयोग हुने औषधिका खाली बट्टाहरु, दायाँ हातको हत्केलामा खाली सिरिन्ज र बायाँ हातमा क्यानोन लगाएको अवस्थामा उनको मृत शरीर भेटिएको थियो।

अविवाहित डाक्टर पाठक केही महिनाअघिबाट सुवेदीको घरमा बस्न थालेकी थिइन्। उनका आफन्त गाउँमै बस्ने गरेका थिए। मृतक पाठकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाटनमा लगिएको छ। अन्नपुर्णपोस्टबाट