आफै बन्द गराएको लण्डन पबमा मेयर बालेन साहको छमछमी नाच

आफै बन्द गराएको लण्डन पबमा मेयर बालेन साहको छमछमी नाच

२६ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले भवनको नक्सा विपरीत प्रयोजनमा लगाइएको बेसमेन्ट खाली गराउने क्रममा दरबारमार्गको लण्डन पब पनि हटाएको थियो ।

लण्डन पब हटाउन महानगरका मेयर बालेन्द्र साह(बालेन) ८ भदौमा आफैं डोजर लिएर पुगेका थिए । डोजरले केही भाग भत्काएर तुरुन्तै हटाउन निर्देशन दिएपछि यो पब नै केही समय बन्द भएको थियो ।

तर लण्डन पबको सामाजिक सञ्जालमा बुधबार मेयर बालेन नाचेको भिडियो र फोटो पोष्ट भएपछि पबसँग बालेनको कुनै समझदारी भएको त होइन भन्ने प्रश्न उठेको छ ।आफैंले हटाएको पबमा नाच्न बालेन कसरी पुगेत ? बालेनका प्रमुख स्वकीय सचिव भुपदेव साहका अनुसार महानगरले डोजर लगाएपछि लण्डन पब त्यहाँबाट सरेको छ ।

हाल लण्डन पब किंग्स लाउञ्जको छेउमा सञ्चालनमा आएको छ । नयाँ ठाउँमा सञ्चालनमा आएको लण्डन पबमा मंगलबार राति बालेन एक कार्यक्रममा पुगेका हुन् ।

‘काठमाडौं महानगरपालिकाले कानुन अनुसार चलेको व्यवसायीहरुलाई सम्मान गर्छ भन्ने उदाहरण पनि हो । उहाँ व्यक्तिगत निमन्त्रणामा पब पुग्नुभएको हो । महानगरले पब बन्द गर्न भनेको होइन, बेसमेन्टमा नचलाउ भनेको हो । जुन पबले मानेको छ । उहाँ जाँदा सम्मानसहित जानुभएको हो’, साहले भने । पबको सामाजिक सञ्जालमा राखिएको फोटो र भिडियोमा मेयर बालेन उनकी श्रीमती सबिना काफ्लेसँग नाचेको देखिन्छ । अनलाइनखबरबाट