रूकुम पश्चिममा कांग्रेसका बागी ‘आउट’, जनार्दन शर्मालाई झनै सजिलो

रूकुम पश्चिममा कांग्रेसका बागी ‘आउट’,  जनार्दन शर्मालाई झनै सजिलो

रूकुम पश्चिममा नेपाली कांग्रेसका ‘बागी’ नेताहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) लाई चुनावमा झनै सजिलो भएको छ। प्रतिनिधि सभा र प्रदेश सभामा कांग्रेसबाट उम्मेदवारी दिएका सबैले नेताले बुधबार उम्मेदवारी फिर्ता लिएका छन्।

प्रतिनिधि सभामा कांग्रेस उम्मेदवार तथा केन्द्रीय सदस्य मानबहादुर नेपाली र स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसकै लालबहादुर महतले उम्मेदवारी फिर्ता लिएपछि नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका अर्थमन्त्री शर्मालाई निर्वाचन जित्न झनै सजिलो भएको राजनीतिक वृत्तमा चर्चा सुरू भएको छ।

अब अर्थमन्त्री शर्माका प्रतिस्पर्धी भनेका स्वतन्त्र उम्मेदवारी दिएका तारक केसी र एमाले उम्मेदवार नन्दराम देवकोटा मात्र हुन्। जिल्लाको प्रदेश सभातर्फ क्षेत्र (क) मा कांग्रेसका कृष्णबहादुर रोकायाले पनि उम्मेदवारी फिर्ता लिएका छन्। उनले गठबन्धनका उम्मेदवारलाई सघाउने भन्दै उम्मेदवारी फिर्ता लिएको बताएका छन्। यहाँ प्रदेश सभा (क) मा स्वतन्त्र उम्मेदवारी दिएका पूर्व जनमुक्ति सेनाका कमान्डर भिमदत्त खड्काले पनि गठबन्धनकै उम्मेदवारलाई सहयोग गर्न आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएका छन्।

प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा स्वतन्त्र उम्मेदवारी दिएका खड्कबहादुर डाँगीले पनि उम्मेदवारी फिर्ता लिएका छन्। यो क्षेत्रमा कांग्रेस उम्मेदवार तथा जिल्ला सभापति प्रेमप्रकाश वली बैंकिङ कसुरमा दोषी ठहरिएकाले मंगलबार नै उनको उम्मेदवारी खारेज भएको थियो।

गठबन्धनको भागबन्डाका आधारमा रूकुम पश्चिममा प्रतिनिधि सभा र प्रदेश सभा (क) मा माओवादीको भागमा परेको थियो। त्यस्तै निर्वाचन क्षेत्र (ख) मा कांग्रेस र माओवादी दुवैको नाम समावेश थियो। त्यही भएर कांग्रेसका नेताहरू रूष्ट बन्दै सबै क्षेत्रमा उम्मेदवारी दिएका थिए। अन्त्यमा रूकुम पश्चिममा माओवादीको मात्र वर्चस्व कायम हुने भएको हो।

यो जिल्लामा गत वैशाखको स्थानीय तह निर्वाचनमा मुसिकोट नगरपालिका र बाफिकोट गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेस विजयी भएको थियो। त्यस्तै चौरजहारी नगरपालिका, आठबीसकोट, त्रिवेणी र सानोभेरी गाउँपालिकामा कांग्रेसले झिनो मतान्तरले मात्रै पराजय भोगेको थियो। त्यसैले कांग्रेस नेताहरूले आफ्नो अस्तित्व जोगाउन भन्दै गठबन्धनको भावना विपरीत उम्मेदवारी दिएका थिए।

तर पार्टीले भागबन्डा विपरीत उम्मेदवारी दिने पार्टीका उम्मेदवारलाई पाँच वर्षसम्मका लागि कारबाही गर्ने चेतावनी दिएपछि बाध्य भएर कांग्रेस उम्मेदवारले उम्मेदवारी फिर्ता लिनुपरेको एक नेताले बताए।