क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लगिँदैछ।नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको हो।
गत सोमबार २० गतेबाट लागू हुनेगरि प्रहरीले अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद पाएको थियो। गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको थियो।
अमेरिकाबाट गत बिहीबार नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो। उनीमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ। राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको थियो।
भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी-२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए। उक्त लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो। जाहेरी आएकै दिन प्रहरीले नाबालिगको स्वास्थ्य परीक्षण गराएको थियो। यस्तै उनी पुगेको काठमाडौंको होटलबाट सिसिटिभी फुटेज पनि प्रहरीले संकलन गरिसकेको छ। त्यसमा उनी करिब ७ घन्टा होटलमा बसेको देखिन्छ।



