नेपालले गर्यो युक्रेनको पक्षमा मतदान

नेपालले गर्यो युक्रेनको पक्षमा मतदान

२७ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको साधारणसभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भर्त्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् । नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार भएको मतदानमा १४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान गरेका छन् ।

यसैगरी ३५ देश मतदानको समयमा अनुपस्थित रहेका थिए । उक्त प्रस्तावमा भनिएको छ, ‘रुसले गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र तथाकिथत रुपमा गरिएको जनमत सङ्ग्रहको निन्दा गर्दछौँ । साथै संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र र सङ्गठनले युक्रेनको सीमा परिवर्तनलाई मान्यता दिने छैन ।’ उक्त प्रस्तावको रुसले तुरुन्त र बिना शर्त निर्णय फिर्ता लिनसमेत माग गरिएको छ ।

युक्रेनलाई थप एक अर्ब डलरको अत्याधुनिक हतियार दिँदै अमेरिका

अमेरिकाले युक्रेनलाई थप एक अर्ब डलरको अत्याधुनिक हतियार दिने भएको छ । यसअघि अमेरिकाले युक्रेनलाई १५ अर्ब डलरको सैन्य सहायता दिइसकेको छ । १.१ अर्ब डलर बराबरको नयाँ सैन्य सहायतामा अत्याधुनिक हतियारहरू हुनेछन् । यसमा रकेट लन्चर र ड्रोन स्ट्राइक हतियारहरू हुनेछन् । युक्रेनका चार क्षेत्रमा जनमत संग्रह गराएर रुसमा समावेश गर्ने प्रक्रिया अगाडि बढाइएपछि युक्रेनी भूभागलाई रुसको कब्जाबाट जोगाउन यो सहयोग दिन लागेको पेन्टागनलाई उद्धृत गर्दै अरब न्यूजले खबर लेखेको छ ।

यसअघि अमेरिकी सेनाबाट सैन्य सहायता दिइँदै आएको भए पनि यसपटक संसदबाट अनुमोदन भएपछि हतियार उत्पादन गर्ने कम्पनीबाट सिधै खरिद गरिने बताइएको छ । अमेरिकी सहयोगको पछिल्लो संकेतपछि रुसले अमेरिकालाई चेतावनी दिएको छ । अमेरिकाले हतियार पठाएर युक्रेनमा भीषण द्वन्द्वको अवस्था सिर्जना गरिरहेको रुसले प्रतिक्रिया दिएको छ । रुसले थप सैन्य सहायतापछि अवस्था थप बिगार्ने र यसको जिम्मेवारी अमेरिकाले लिनुपर्ने टिप्पणी गरेको छ ।

नयाँ सैन्य सहायतामा भारी उपकरणको ढुवानीका लागि करिब १५० सवारी साधन, ४० ट्रक र ८० वटा ट्रेलर, मानवरहित हवाई प्रणाली ट्र्याक गर्ने २ रडार, २० बहु-मिसन रडारका साथै रणनीतिक सुरक्षित सञ्चार र निगरानी प्रणाली समावेश छ ।