रौतहट ३ मा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका नेता प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएपछि माओवादी केन्द्रका उम्मेदवार धीरज पटेललाई फिर्ता गराउन लागिएको हो । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रौतहट ३ मा साहलाई समर्थन गर्ने निर्णय भएको बताए । ‘रौतहट ३ मा सत्तारुढ गठबन्धनले प्रभु साहलाई समर्थन गर्ने निर्णय भएको छ,’ उनले भने ।
पार्टी केन्द्रको निर्णयअनुसार रौतहट जिल्ला कमिटीले पनि पटेललाई उम्मेदवारी फिर्ता गरेर साहलाई समर्थन गर्न निर्देशन दिएको माओवादीले नेताले बताएका छन् । पटेलले भने आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छैनन् ।
एमालेले रौतहट ३ मा साहलाई नै टिकट दिएको थियो । तर, एमाले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएका साहले पार्टी टिकटबाट नलडेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । जनता समाजवादी पार्टीसँग एमालेले तालमेल गरेकोमा साह असन्तुष्ट रहँदै आएका थिए । साहले रौतहट ३ सहित एमाले र जसपाबीचको तालमेलमा जसपाले प्राप्त गरेका सिटमा स्वतन्त्र उम्मेदवार उठाएका छन् ।
साह माओवादी पृष्ठभूमिकै नेता हुन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपा एकता भंग भएपछि साह एमाले अध्यक्ष केपी ओलीको पक्षमा खुलेका थिए । नेकपाको निरन्तरता भन्दै एमालेमा रहँदा साहसहित माओवादीका अन्य चार जना नेताले सांसद पदसमेत गुमाउनु परेको थियो । आफूहरुले केपी ओलीलाई संकटमा साथ दिएको भए पनि त्यस अनुसार व्यवहार नभएको भन्दै साहले एमालेको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् ।
ओलीजीलाई मधेशमा लगेकै मैले हो
ठूला भनिएका हरेक पार्टीमा टिकटका लागि हानाथाप चल्यो । विगतमा जस्तै यो चुनावमा पनि टिकट नपाएकै कारण वर्षौंसम्म आफू आवद्ध भएको पार्टी रातारात छाडेर अर्को पार्टीमा पुगेर टिकट लिनेहरु पनि देखिए । तर नेकपा एमालेका नेता प्रभु साहले भने पार्टीले दिएको टिकट गोजीमा राखेर स्वतन्त्र उम्मेदवारी दिए ।
साहले जनता समाजवादी पार्टीसँग चुनावी तालमेलको विरोध गर्दै रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका हुन् । आफूसँगै अरु एमाले नेताहरुलाई पनि जसपालाई छाडेको ठाउँमा उम्मेदवारी दिन लगाएका साह भन्छन्, ‘ओलीजीले साम्प्रदायिक शक्तिलाई मधेश जिम्मा लगाउन खोज्नुभयो, ठेक्का दिन खोन्नुभयो, मैले अस्वीकार गरें ।’