प्रधानमन्त्री देउवाले बर्खास्त गरे जसपाका चार मन्त्री, मधेसमा जसपाले गर्यो काउन्टर

प्रधानमन्त्री देउवाले बर्खास्त गरे जसपाका चार मन्त्री, मधेसमा जसपाले  गर्यो काउन्टर

२७ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का चार मन्त्रीलाई बर्खास्त गरेका छन् । जसपाले नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंहलाई हटाएका हुन् ।

सत्ता गठबन्धनमा रहेको जसपाले २२ असोजमा एमालेसँग चुनावी तालमेलको सहमति गरेको थियो । तर मन्त्रीहरूले भने राजीनामा दिएका थिएनन् । सत्ता गठबन्धनका नेताहरूले जसपाका मन्त्रीहरू हटाउनुपर्ने पक्षमा थिए ।

प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चार वटै मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने गरी तोकेकी छन् । श्रेष्ठ सरकारमा पार्टीको नेतृत्व गर्दै असोज २०७८ मा मन्त्री बनेका थिए भने इस्तियाक, प्रदीप र मृगेन्द्रकुमार २० असारमा मात्र मन्त्री बनेका थिए ।

मधेस जसपाको काउन्टर

संघ सरकारले जनता समाजवादी पार्टी (जसपा)का चार मन्त्रीलाई हटाएपछि मधेस सरकारबाट पनि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसका मन्त्रीहरुलाई हटाउने गरिएको छ । मधेस प्रदेश सरकारको नेतृत्व जसपाले गरिरहेको छ । सत्ता गठबन्धनबाट हटेकै निहुँमा आफ्ना मन्त्रीलाई हटाएकाले मधेसमा त्यसकाे बदला लिने जसपा स्रोतले जनाएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारबाट काँग्रेस, माओवादी र नेकपा एसका मन्त्रीहरुलाई हटाउने छलफल थालेका हुन् । जसपा केन्द्रीय कार्यकारिणी सदस्य तथा मधेस सरकारका कृषिमन्त्री विजय यादवले कांग्रेस, माओवादी र नेकपा एसका मन्त्रीहरु नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।

नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा नदिए हटाउने पनि मन्त्री यादवले बताए ।मधेस सरकारमा काँग्रेसका तीन, माओवादीका २ मन्त्री र एक राज्यमन्त्री, नेकपा एसका दुई मन्त्री र एक राज्यमन्त्री छन् । उता लुम्बिनीमा भने जसपाका मन्त्री हटाउने विषयमा कुनै तयारी नभएको सरकारका प्रवक्ता संचारमन्त्री तिलकरा शर्माले बताए । यस विषयमा कुनै छलफल नभएको उनले जानकारी दिए ।

जसपाबाट लुम्बिनी सरकारमा तीन मन्त्री रहेकोमा जसपाबाट टिकट नपाएपछि मन्त्री सहश्रराम यादव नेपाली कांग्रेस प्रवेश गरेका छन् भने मन्त्रीहरु सुमन शर्मा रायमाझी तथा पुर्मती ढेंगामगरले पनि उम्मेदवारी पाएका छैनन् ।