सन्दीप लामिछानेको बयान लिने काम आधा सकियो : अधिवक्ता घिमिरेले

सन्दीप लामिछानेको बयान लिने काम आधा सकियो : अधिवक्ता घिमिरेले

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेका वकिल सरोज घिमिरेले बयान लिने काम आधा सकिएको बताउँदै असोज ३१ गतेसम्म अनुसन्धान सकिने विश्वास गरेका छन् । काठमाडौँ जिल्ला अदालतमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अनुसन्धानको काम नसकिएकाले नेपाल प्रहरीले थप ७ दिनको समय माग गरे पनि अदालतले ५ दिनको म्याद मात्र थप गरी अनुसन्धान गर्न अनुमति दिएको अधिवक्ता सरोज घिमिरेले बताए ।

उनले यो मुद्दा एक व्यक्तिसँग मात्र नभई संस्थासँग पनि सम्बन्धित रहेकाले फास्ट ट्रयाकमा सक्नुपर्ने बताए । सन्दीपमाथि थप ५ दिनको म्याद थपी अनुसन्धान गर्न सूर्यबहादुर थापाको बेन्चले समय दिएको र आगामी कार्तिक १ गते पुनः फाइल पेस गर्ने वा म्याद थपको लागि पुनः पेस गर्न सक्ने बताए ।

उनले भने, ‘अनुसन्धान गर्न ७ दिनको म्याद माग्नुभएको थियो । पक्राउ परेको दिनबाट ७ दिन गइसकेको छ, बयान लिने क्रम पनि आधा सकिसकेको छ । ७ दिन धेरै लामो हुन्छ, यो एउटा व्यक्तिसँग मात्र नभई संस्थासँग सम्बन्धित मुद्दा छ, यस्तो मुद्दालाई अलि फास्ट ट्रयाकमा गम्भीरताका साथ लिएर काम सक्नुपर्ने भन्यौँ । अनुसन्धानमा लामो समय लिनु भनेको प्रहरीका लागि पनि नराम्रो कुरा हो । हामीले ३ दिनको माग गरेका थियौँ । सूर्यबहादुर थापाको बेन्चले ५ दिनको समय थपेको छ ।’

Europass CV in Nepal

अधिवक्ता घिमिरेले पीडित भनिएकी किशोरीको दुईवटा जन्मदर्ता भएको विषयमा आफूहरूले अनुसन्धान गरिरहेको बताउँदै भने, ‘हामीले थप बोल्न मिल्दैन ।’ जिल्ला अदालत काठमाडौँले २० गतेबाट गणना हुने गरी ७ दिनका लागि म्याद थप गरेको समय सकिएपछि पुनः थप ५ दिन अनुसन्धानका लागि समय उपलब्ध गराएको हो । गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरी गत सोमवार अदालतमा उपस्थित गराएको थियो । अदालतमा उपस्थित भएसँगै लामिछानेलाई ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिइएको थियो ।

१७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई असोज २० गते नेपाल आए लगत्तै विमानस्थलबाट नै पक्राउ गरिएको थियो । काठमाडौँको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् ।

Europass CV in Nepal