संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले स्वार्थ पूरा नगरिदिँदा आफूलाई मिडियाले खेदेको दाबी गरेका छन् । आज (सोमबार) मन्त्रालयकै सभाहलमा आयोजित एक कार्यक्रममा आलेले राम्रो काम गर्दागर्दै पनि आफूलाई मिडियाले जस नदिएको बताएका हुन् ।
‘राम्रो काम गर्दा गर्दै पनि अहिले कता कता, कतिपय मानिसहरूले उनीहरूको व्यक्तिगत स्वार्थअनुसार काम नहुँदा विभिन्न मिडियामा देखाउने कामहरू गरिरहेका छन्, त्यसमा मैले भन्नुपर्ने केही छैन । त्यो त तपाईंहरू आफैंले पनि बुझ्न सक्नुहुन्छ,’ मन्त्री आलेले भने, ‘पत्रकार साथीहरू पनि यहीँ हुनुहुन्छ । म आइसकेपछि मैले गरेका कामहरू राम्रा कामहरूको राम्रो न्यूज दिनुहोला । यदि मैले खराब काम गरेँ भने खराब भनेर लेख्नुहोला । म यो भन्दिनँ कि नराम्रो काम गरेकोलाई राम्रो भनिदिनुस् ।’
आलेले आफू विभिन्न समस्या समाधान गर्नकै लागि मन्त्रालयमा आएकाले पदबहाल गरेकै दिनदेखि विकृति र खराब कामलाई सुधार्दै लैजान खाजेको पनि दाबी गरे । उनले थपे, ‘मबाट कहीँ कमीकमजोरी छ र सच्चिनुपर्नेछ भने त्यो पनि मलाई तपाईंहरूले आएर भन्नुस् । तपाईंहरूको साथ/सहयोगबिना म केही पनि गर्न सक्दिनँ ।’
निगम प्रमुखको तलब साढे दुई लाख रुपैयाँ घटाएको दाबी
मन्त्री आलेले नेपाल वायुसेवा निगमका व्यवस्थापन प्रमुखको तलब साढे दुई लाख रुपैयाँले घटाएको पनि दाबी गरे । जनताले तिरेको करबाट बनेको निगमको सञ्चालन खर्च कम गरी नाफा कमाउने संस्था बनाउनेतर्फ आफूले काम गरिरहेको आलेले बताए ।
‘विगतमा निगमको महाप्रबन्धक डीमप्रकाश पौडेलको सेवा सुविधा चारलाख रुपैयाँ थियो । त्यो अघिका कार्यकारी अध्यक्ष मदन खरेल हुनुहुन्थ्यो, उहाँले राजीनामा दिनुभयो, उहाँको पनि लगभग चार लाख रुपैयाँभन्दा बढी थियो,’ यसअघि निगम प्रमुख भएकाहरूको तलबमानबारे जानकारी दिँदै आलेले भने, ‘जब कार्यकारी अध्यक्ष युवराज अधिकारी हुनुभयो, मैले उहाँलाई सकभर तलब नलिइकन काम गर्न भनेँ । उहाँले ‘करसर कटाएर हजुर ! एक लाख त पाउनुपर्यो’ भनेपछि हामीले उहाँको तलब डेढलाख रुपैयाँ राखेका छौँ । यस हिसाबले खर्च मितव्ययिता अपनाइएको छ ।’





